भाईटीकामा किन लगाइन्छ सप्तरंगी टीका : यस्तो छ अर्थ र महत्व



काठमाडौं : भाईटीकाको दिनमा दिदीबहिनीले दाजुभाईलाई पूजा गरी सप्तरंगी टीका लगाइदिने र मिठामिठा खानेकुरा खान दिने चलन छ । त्यसैगरी दाजुभाईले दिदीबहिनीलाई टीका लगाइदिई दक्षिणा दिने चलन छ । भाईटीका कात्तिक शुक्लपक्षको द्वितीया तिथिमा पर्छ । कात्तिक महिनामा सूर्य तुला राशिमा गएर निच हुन्छ । निच सूर्यको विकिरण सोझै पृथ्वीमा पर्छ । त्यसले गर्दा खगोलको असर भूगोलमा पर्छ ।

खगोलमा हुने राम्रा तथा नराम्रा दुवै असर पृथ्वीमा परेको हुन्छ । सौर्यमण्डलका आधिपति सूर्य तुला राशिमा निच भएर बसेको हुन्छ । नराम्रो निच सूर्यको विकिरण हटाउनका लागि सूर्यको सातवटा चिह्नको प्रतीकको टीका बनाएर लगाइएको हो ।

निच सूर्यको दुस्प्रभाव रोक्न, त्यसको प्रतिकारका लागि सप्तरंगी टीका लगाइएको हो । सूर्यको किरणमा सातवटा रङ मिसिएको हुन्छ । सप्तरंगी टीका तेर्साे नलगाई ठाडो लगाउनुको पनि कारण छ । मानिसको तेस्रो नेत्र ठाडो हुन्छ । तेस्रो नेत्र भनेको ज्ञानको नेत्र हो । तेस्रो नेत्र खुलाउनका लागि सप्तरंगी टीका ठाडो पारेर लगाउने गरिएको हो ।

विषालु विकिरण रोक्नका लागि सप्तरंगी टीका लगाउनुको कारण त हुँदै हो । यससँगै दिदीबहिनी र दाजुभाईबीच नैतिक र आदर्शको सम्बन्ध स्थापित होस् भनी अनुबन्धित पनि गरेको हो ।

रातो रङको अर्थ विजयको प्रतीक हो भने पहेँलो धन, सेतो ज्ञानको प्रतीकका साथै नीलो शान्तिको प्रतीक हो । कालो काललाई जित्ने र प्याजी भनेको कलेजोको रगतको प्रतीक हो, रगतले जिउँदो मानिसको प्राण भर्ने काम गर्छ । त्यसकारण सबैको सातवटै कुरा जीवनमा प्राप्त होस् भन्नका लागि सप्तरंगी टीका लगाइएको हो ।

प्रतिक्रिया दिनुहोस्