तराईमा छठको रौनक, पाक्न थाले ठेकुवा, सजिदै जलाशय



बारा : तिहार सकिए लगतै मध्यतराईका बजारमा छठको रौनक शुरु भएको छ ।

ठेकुवा तथा प्रसाद बनाउन पवित्र तथा शुद्ध माटोको चुल्हो बनाउन महिलाले माटो ल्याउन थालेका छन् । छठ ब्रत्तको लागि पकाइने ठेकुवा, प्रसाद तथा चोखो खाना बनाउन माटोको नयाँ चुल्हो बनाउने परम्परा रहेको छ । छठ पर्वका लागि बाराको कलैयास्थित रामजानकी मन्दिर, सिद्धेश्वर पोखरी, महागढीमाईको पोखरी, सिम्रौनगढको इसरा पोखरी, गन्जभवानीपुरको रामजानकी पोखरी, आर्दशच्युटाहाका पोखरी, बारागढी लगायतका ठाँउमा रहेका पोखरीहरुमा सजावटको कार्य तिब्ररुपले भईरहेको छ ।

यस्तै जिल्लाको ग्रामिण भेगमापनि छठ पूजाको तयारी जोडतोडले अगाडि बढेको छ । ग्रामीण क्षेत्रमा रहेका नदी, पोखरी तथा तलाउका छठघाटको सरसफाइ र सजावटको काम भइरहेको छ । हिन्दुहरुको धार्मिक ग्रन्थ महाभारत अनुसार द्रौपतिसहित पाण्डवहरूले अज्ञात बासमा रहँदा सो गुप्तबास सफलहोस् भनी सूर्यदेवको आराधना गरेको र सोही समयदेखि छठ मनाउने सत्तीअनुसुईयाले यो पहिलो पटक पर्व मनाएपछि यसको परम्पराको थालनी शुरु भएको कथन सूर्य पुराणमा उल्लेख छ ।

Image result for ठेकुवा
ठेकुवा

छठ ब्रत्तको प्रभावले यसरी पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस्भन्ने उद्देश्यले सूर्यको उपसना गरी यो पर्व मनाउने गरिन्छ ।

यता, हिन्दुहरूको महान पर्व छठको लागि जिल्लाका ग्रामीण भेगबाट किनमेल गर्न आउने ग्राहकको भीडका कारण ट्राफिक व्यवस्थापनमा समस्या भएको छ । कलैयाको मुख्य बजार भरत चोक, पुरानो खसी बजार चोकहरुको सडकमा मोटरसाईकल, साईकल र चारपांग्रे सवारी–साधनको पार्किङ्गको व्यवस्था नभएको कारण ट्राफिक व्यवस्थापनमा समस्या भएको हो ।
दिनहुँ हुने ट्राफिक जामका कारण किनमेलका लागि आउने सर्वसाधारणहरुलाई सास्ती हुने गरेको छ ।

छठ पर्वमा सामान किन्न साईकल, मोटरसाईकल मार्फत कलैया आउने सर्वसाधारणको भिडभाडका कारण मिण्टौसम्म ट्राफिक जाममा फस्ने गरेकाले कलैया निवासी श्याम महतोले बताउनु भयो । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्