महरा–रोशनी काण्ड : ‘पोलिग्राफ टेस्ट’ गर्न मानेनन् महरा



काठमाडौं : संसद् सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले ‘पोलिग्राफ टेस्ट’ गराउन अस्वीकार गरेका छन् । उनले बिरामी भएको भन्दै टेस्ट गराउन नमानेका हुन् ।

गम्भीर किसिमको अपराध अनुसन्धान गर्दा अभियुक्तले इन्कारी बयान दिएको अवस्थामा प्रहरीले पोलिग्राफ टेस्ट गराउँछ । यस्तो टेस्टबाट अभियुक्तले झुटो बोले–नबोलेको पत्ता लाग्छ । महराले पीडित महिलाको डेरामा नै नगएको इन्कारी बयान दिएका थिए । जसले गर्दा सरकारी वकिल कार्यालय र प्रहरीले पोलिग्राफ टेस्ट गराउन चाहेको थियो ।

अभियुक्तको स्वीकृतीविना पोलिग्राफ टेस्ट गराउन मिल्दैन । साथै पोलिग्राफ टेस्टका लागि पूर्ण रूपमा स्वस्थ पनि हुनुपर्छ । ‘बिरामी भएर अस्पतालमै बसेकाले पनि पोलिग्राफ टेस्ट गराउन हामीले धेरै जोड गरेनौँ,’ काठमाडौं प्रहरी परिसरका एक अधिकारीले भने, ‘पोलिग्राफ टेस्ट गराउन सकेको भए हामीसँग थप बलियो प्रमाण हुन्थ्यो ।’ प्रहरीले केही वर्षयता हरेकजसो गम्भीर किसिमका अपराधको अनुसन्धानमा अभियुक्तको पोलिग्राफ टेस्ट गराउँदै आएको छ । यसलाई अदालतले पनि स्विकार्दै आएको छ ।

आज फरेन्सिक रिपोर्ट बुझाउँदै
प्रहरीले महराको औँठाछापको नमुना लिएर फरेन्सिक टेस्ट गरेको थियो । जसको रिपोर्ट प्रहरीले बिहीबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ । रिपोर्टलाई प्रहरीले गोप्य नै राखेको छ । रायसहितको अनुसन्धान प्रतिवेदन तिहारअघि नै सरकारी वकिल कार्यालयमा बुझाएको थियो । (नयाँपत्रिका दैनिकबाट)

प्रतिक्रिया दिनुहोस्