घुससहित समातिए नेपाल प्रहरीका सइ



बारा : प्रहरी चौकी गंजभवानीपुरका प्रहरी नायब निरीक्षक (सइ) लाई घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले बिहीबार पक्राउ गरेको छ।

हेटौंडास्थित आयोगको कार्यालय हेटौंडाबाट खटेको टोलीले प्रहरी चौकी गंजभवानीपुरका प्रमुख प्रहरी नायब निरीक्षक जटाशंकर साह कलवारलाई ६० हजार घुस रकमसहित रंगेहात पक्राउ गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका सूचना अधिकारी शिवराज रेग्मीले एक जना स्थानीय कपडा व्यापारीसँग कलवारले घुस रकम लिई रहेको अवस्थामा कलैया उपमहानगरपालिका–४ मैदा मिल नजिकैबाट अख्तियारको टोलीले पक्राउ गरेको बताएका छन्।

घुस रकमसहित पक्राउ परेका सइलाई अनुसन्धानको लागि हेटौंडा राखिएको र थप कारवाहीको लागि अख्तियार दुरुपायोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय काठमाडौंको टंगालमा बुझाइने बताए।

बाराका प्रहरी प्रमुख विकास राज खनालले निजी स्वार्थमा लागेर प्रहरी संगठनलाई बदनाम गर्ने कार्यमा लाग्नेलाई प्रहरी संगठनभित्र ठाउँ नभएको बताए। आजको नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्