नेपालसँग व्यापारिक सम्बन्ध बढाउन सक्दाे प्रयास गर्छु : मुख्यमन्त्री योगी



काठमाडौं : भारत, उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीले शताब्दीऔँ पुरानो नेपाल र भारतबीचको सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई व्यापारिक सम्बन्धमा रूपान्तरण गर्न आफूले सक्दो सहयोग गर्ने बताएका छन् ।

 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा नेतृत्वको १९ सदस्यीय उद्यमी–व्यवसायी सम्मिलित प्रतिनिधिमण्डलसँग सोमबार लखनउमा भएको भेटवार्तामा उनले सहयोगको आश्वासन दिएका छन् ।

 

उनले आपसी व्यापार बढाउन नेपाल–भारत सीमा क्षेत्रमा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको जानकारी दिँदै नेपालको विकासमा भारतको केन्द्र र उत्तर प्रदेश सरकारको सदैव साथ र सहयोग रहने प्रतिबद्धता दोहोर्‍याएका महासंघले आज जनाएको छ ।

 

गौरीफण्टा र अलिगढवा सीमानाकाको स्तरोन्नतिमा उत्तर प्रदेश सरकारले तत्कालै काम थाल्ने बताउँदै मुख्यमन्त्री योगीले नेपालगञ्ज–कैलाश मानसरोवर तीर्थयात्राको विकास र धार्मिक पर्यटन प्रवर्द्धनमा सघाउने आश्वासन दिए ।

 

अध्यक्ष राणाले दुई मुलुकबीच भन्सार तथा सडकको विकासमा उत्तर प्रदेश सरकारले दिएको प्राथमिकताको स्वागत गर्दै नेपालको धार्मिक पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा उत्तर प्रदेश सरकारबाट निरन्तर सहयोग हुने आशा व्यक्त गरे ।

 

‘नेपालको मध्य तथा सुदूर पश्चिम क्षेत्रको विकासमा उत्तर प्रदेश सरकारको सक्रिय सहयोगको अपेक्षा गरेका छौँ’, अध्यक्ष राणालाई उद्धृत गर्दै महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

 

नेपाल र उत्तरप्रदेशबीच आर्थिक एवं व्यापारिक सम्बन्ध विस्तार, लगानी आकर्षण, पर्यटनप्रवर्द्धनमा सहकार्यका क्षेत्रहरूका सम्भाव्यता पहिल्याउन महासंघको प्रतिनिधिमण्डल उत्तर प्रदेश राजधानी लखनउ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्