बाराक र मिसेल ओवामा अमेरिकीलाई सबैभन्दा मनपर्ने व्यक्ति



काठमाडौं: अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओवामा र उनकी पत्नी मिसेल ओवामा अमेरिकी जनताले सबैभन्दा धेरै मनपराउने पुरुष र महिला बनेका छन् । गलुप संस्थाले हरेक वर्ष गर्ने सर्वेक्षणमा यस वर्ष अमेरिकी जनताको रोजाइमा ओवामा दम्पती परेका हुन् ।

 

संसारभरिका कुन महिला र पुरुष सबैभन्दा धेरै मनपर्छ भनेर अमेरिकी जनतासँग प्रत्येक वर्ष गरिने सर्वेक्षणमा यस वर्ष ओवामा दम्पती एकैसाथ आआफ्नो सूचिको पहिलो स्थानमा पुगेका हुन् । बाराक ओवामा पछिल्लो ११ वर्षदेखि यो सूचिमा रहँदै आएका छन् भने मिसेल १७ वर्षसम्म लगातार सूचीको पहिलो नम्बरमा रहेकी पूर्वविदेशमन्त्री तथा सन् २०१६ की राष्ट्रपति उम्मेद्वार हिलारी क्लिन्टनलाई पछि पार्दै पहिलो नम्बरमा पुगेकी हुन् ।

 

सर्वेक्षणमा मिसेलले १५ प्रतिशत मत पाएकी थिइन् भने ५ प्रतिशत मत पाएर अर्फान विन्फ्रे दोस्रो नम्बरमा रहन सफल भइन् । १७ वर्षसम्म सूचीको पहिलो नम्बरमा रहेकी हिलारी यसवर्ष तेस्रो नम्बरमा परेकी छन् । उनले ४ प्रतिशत मत पाएकी छन् । उनको र प्रथम महिला मेलानिया ट्रम्पको मत बराबर छ ।

 

त्यस्तै पुरुषको सूचिमा भने दोस्रो नम्बरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रहेका छन् । पूर्वराष्ट्रपति ओवामाले १९ प्रतिशत मत पाएका छन् भने ट्रम्पको मत १३ प्रतिशत छ । अमेरिकनले अत्यधिक मन पराउने व्यक्तिमा निर्वासित तिब्बती धर्मगुरू दलाई लामा पनि रहेका छन् । उनी आठौं नम्बरमा छन् ।

प्रतिक्रिया दिनुहोस्