मुसहर बस्तीका बुधनीहरू : नाम फेरियो, फेरिएन जीवन



महोत्तरी : गरिबी र पछ्यौटेपनका शिकार मुसहर जातिमा अब पुराना शैलीका नाउँ हराउँदै गएको छ । अइतिया–रेबिया, सोमनी–सोमना, मङ्गली–मङ्गला, बुधनी–बुधना, बिहीनी–बिहना, शुकना–शुकनी र शनिचरा–शनिचरी..। 

न बाहुन चाहिने न कर्मकाण्डी पुरोहितको लामो विधि । जुन बार जन्मे त्यहीबारसँग मेलखाने गरी घरमूलीले छोरा–छोरीको नाउँ राख्ने मुसहर जातिमा चलन हो । बारसँग मिल्नेबाहेक अरू नाम पनि राखिन्थे मुसहर जातिमा । भुट्टा, बन्ठा, रैता ।  

तर, बस्तीका ‘मालिक’ का छोराछोरीसँग मेल खाने गरी भने नाम राख्न नहुने । महोत्तरी जिल्लाको भंगहा नगरपालिका–४ रामनगरका जुगला (‘युगल’ को अर्थमा) सदाले आफ्नो छोराको नाउँ रोहिता राखे । बस्तीनजिककै एकजना मालिकका छोराको नाउँ ‘रोहित’ सँग मिल्नेगरी छोराको नाउँ राख्ने रहर पूरा गरे जुगलाले । 

‘मालिकका छोराको जस्तो ‘रोहित’ नै त राख्नु भएन नि हजुर !,’ जुगलाले सानै छँदा ‘सत्यवादी हरिश्चन्द्र’ नाटक मालिककै आँगनमा हेर्दा मन परेको ‘रोहित’ पात्रझैं छोराको नाउँ राख्ने रहरबारे भने–, ‘मलाई पनि छोरा जन्मेपछि त्यही नाउँ राख्ने मन थियो, मालिकका छोरा पहिले जन्मनुभयो, उहाँ (जुगलाले भनेका व्यक्ति) ले ‘रोहित’ नाउँ राखी हाल्नुभयो । 

अनि मैले पछि जन्मेका छोराको नाउँ रोहिता राखे ।’ झट्ट हेर्दा कथित उपल्ला जातका ‘मालिक’ र धनीमानीले घरमा आफ्ना छोराछोरीसँग रिसाउँदा हपार्ने गालीका शब्द यी दलितका सन्तानको प्रिय नाउँ हुने चलन थियो । 

तर, अहिले मुसहर बस्तीका पछिल्ला पुस्तामा अन्य समुदाय र जातजातिका जस्तै नाउँ राख्ने चलन बस्यो । अनिल, अरुण, राम, श्याम…आदि छोराका नाउँ र अञ्जली, बिना, शान्ता, पर्मिला, शर्मिला आदि छोरीका नाउँ मुसहर बस्तीमा अब बाक्लै भेटिन थालेका छन् । 

नाउँ राख्ने शैली फेरिए पनि बिहान उज्यालो हुनासाथ काँधमा कोदालो र हातमा खुर्पी (हातले माटो खुर्कने र खन्ने फलामे औजार) लिएर मुसा खोज्न जाने मुसहर बालबालिकाको जीवन फेरिएन । 

अहिले पनि मुसहर बस्तीका बालबालिका विद्यालय पुग्न सकेका छैनन् । मुसहर बस्तीका बालबालिकालाई विद्यालय पुर्‍याउन स्थानीय तहले कुनै थप योजना नल्याएको शिक्षण पेसाबाट आवकास अवकास लिएका भंगहा–६ हतिसर्वाको मदनपट्टी बस्तीका ७० वर्षीय विष्णुनारायण राय थारू बताउँछन् । 

२०६८ सालको जनगणनाअनुसार महोत्तरीमा मुसहरको संख्या करिब तीनहजार तीन सय देखिन्छ । यो संख्या अहिले पाँचहजारको हाराहारीमा पुगे पनि माध्यमिक शिक्षा परीक्षा (एसइई) उतीर्ण गरेका मुसहरको संख्या १५ पनि छैनन् । 

प्रवीणता प्रमाणपत्र तह (अहिलेका कक्षा ११, १२ उतीर्ण) का त एउटै हातको औंलामा गन्न सकिने अवस्था रहेको सामुदायिक माध्यमिक विद्यालयमा २९ वर्ष प्रधानाध्यापक रहेर अवकास लिएका थारूको भनाइ छ । यसमा छोरीको गणनाको त स्थान नै नरहेको उनी बताउँछन् । 

घरगुजाराको मुख्य पेसा कृषिमजदुरी रहेका मुसहर माटो काट्ने र टाला बोक्ने (माटो काटेर पुर्ने ठाउँमा पुर्याउन मुसहरले जालीयुक्त भार काँधमा बोक्ने) काममा पोख्त मानिन्छन् । 

यसबाहेक ‘गिरहत’ (मुसहरले काम गर्ने घरधनीलाई गिरहत वा मालिक भन्छन्) ले लाए अह्राएअनुसार कोदालो खन्नु, हलो जोत्नु र अन्य कृषि काम गरेर पाइने ‘बनी’ (काम गरेबापत अन्नपातमा पाइने ज्याला) ले गुजारा चलाउनु नै मुसहरको दैनिकी हो । 

‘आफ्नो नाउँमा घरघडेरीसमेत नहुने मुसहर धन सञ्चयबारे सोच्दैनन्,’ मुसहर उत्थानका लागि ‘भोर’ नामक सामाजिक संस्थाबाट प्रयत्न गर्दै आएका राजकुमार महतो भन्छन्, ‘दैनिक ज्यालाबाट पाइने अन्न(खासगरी धान र गहुँ) मध्ये आधा बेचेर तेलमसाला किन्ने र आधा कुटाइपिसाइ गरेर जाउलोफाँडो खाएर जीवन धान्ने नै मुसहरको जिन्दगी हो ।’ 

लोग्ने, छोरा र घरका वयस्क पुरुष बनी गर्न हिँडेपछि मुसहर परिवारकी घरमूली महिला छोरी र साना केटाकेटी लिएर मुसा खोज्न वा घोंगी (मुसहरले खान रुचाउने हिलोपानीमा बस्ने एकप्रकारको सानो शङ्खे कीरा) मार्न जाने गर्छन् । 

लोग्ने, छोराले ल्याएको बनीको अन्नबाट पकाइएको भात वा रोटी  र आपूmले ल्याएको घोङीको झोल र मुसाको चटनी सगोल परिवार वरिपरि बसेर खानेख्वाउने मुसहर महिलाको रमाइलो आयोजन मानिन्छ । 

चेतना अभावले स्वास्थ्य, सामाजिक, आर्थिक, राजनीतिक र शैक्षिक क्षेत्रमा मुसहरको अवस्था अत्यन्त रुग्ण देखिन्छ । सानै उमेरमा (१५/१६ वर्षको हाराहारीमा) विवाह गर्ने, २४÷२५ वर्ष पुगुञ्जेल पाँच÷छवटा सन्तान जन्माउने र कुपोषण एवम् स्वास्थ्य आहारव्यवहारमा हुने हेलचेक्य्राइँले धेरैजसो जन्मदै मर्ने कुरा मुसहर जातिमा सामान्य हो । 

बिरामी भएपछि स्वास्थ्य संस्था जाने सोचसम्म नपाइने मुसहरको उपचार भनेको झारफुकमात्र भएको मुसहरको जीवनलाई नजिकबाट नियालेका नेपाल सरकारका पूर्वप्रशासक भंगहा–३ भंगहा बस्तीका  ७८ वर्षीय तेजनारायण सिंह थारू बताउँछन् । 

सानै उमेरमा गरिने भए पनि मुसहर जातिमा मागी विवाहभन्दा प्रेम विवाह नै बाक्लो हुने पाका उमेरका मुसहर बताउँछन् ।  

सामान्यतया पाँच÷सात वर्षसम्म मुसा मार्न हिँड्ने, आठ वर्षदेखि १२/१३ वर्षसम्म बस्तीभित्रका गिरहतको गाईभैंसी चराउने र त्यसपछि भने अचेल मुसहर किशोर रोजगारीका लागि भारतको पञ्जाब, हरियाणा जाने गरेको पाइन्छ । 

छोरीचेलीले भने १२/१३ वर्षसम्म घरवरपर बनिबुतो गर्ने र त्यसपछि विवाह गर्ने आम चलन रहेको बर्दिवास–१४ स्थित एकीकृत मुसहर नमुना बस्तीका बिल्टु सदा बताउँछन् । 

यद्यपि आफ्नो बस्तीमा पछिल्ला दुई वर्षदेखि हास्यकलाकार धुर्मुस–सुन्तलीको प्रेरणाले विवाह गर्ने उमेर बढ्नुसँगै साना नानीहरू विद्यालय पनि जान थालेका बिल्टुले बताए । 

बर्दिवासमा देखिने यो कुरा मुसहरभित्र अपवादजस्तो रहेको समाजशास्त्री भंगहा–३ का बासिन्दा शिवराज दाहाल बताउँछन् ।  

गरिबी, अशिक्षा र अभावले गाँजिए पनि यसबारे कुनै गुनासो व्यक्त नगर्ने मुसहर नागरिकता प्रमाणपत्र, राज्यबाट नागरिकका हैसियतमा पाउनुपर्ने अन्य अवसरबारे पूरै बेखबर छन् । 

पछिल्ला केही वर्षयता नागरिकता प्रमाणपत्र बनाएका मुसहर पनि मालिकले चुनावमा भोटका लागि बनाई दिएको गर्वका साथ सुनाउँछन् । 

मुसहर बस्तीमा ५० वर्ष कटेका व्यक्ति सजिलोगरी भेटिँदैनन् । कुपोषण र मदिरा खाने पिउने लतले चाँडै बिरामी हुने मुसहर ५० पुग्दा नपुग्दै मर्छन् । यदाकदा ५० माथि उमेरका भेटिने मुसहर पनि दीर्घरोगीजस्तै भेटिने जिल्लाको एकडारा गाउँपालिका–३ भटौलियाको मुसहर बस्तीनजिकैका राजनीतिकर्मी विजयकुमार कर्ण बताउँछन् । 

समयसँगै देखासिकीबाट छोराछोरी पढाउनु पर्ने रहेछ भन्ने चेत खुलेका मुसहरले आवश्यक शैक्षिक सामग्री र खानेकुरा जोहो गर्न नसक्दा शिक्षाप्रति खुलेको चेतले व्यावहारिक रूप लिन सकेको देखिँदैन ।

‘नानी पढाउने त ठीकै कुरा रे’छ हजुर !,’ जिल्लाको बलवा नगरपालिकास्थित भगवतीपुरको मुसहरीटोलका अगुवा उत्तिम माझी मुसहरले भने, ‘भन्या बेला खान दिन सकिँदैन, कापीकलम जुटाउन पनि हम्मे पर्छ, त्यसैले विद्यालय पुर्याइएका हाम्रा नानी पनि त्यहाँ (विद्यालयमा) टिक्न सक्दैनन् ।’ 

तराई क्षेत्रमा पूर्वपश्चिम राजमार्गदेखि सुदूर दक्षिण भारतीय सीमासम्म पराले झुप्राका बस्तीमा बस्ने मुसहरको उत्थानका लागि शैक्षिक, सामाजिक चेतनासँगै आयआर्जनका वैकल्पिक उपाय र उपचारसम्बन्धी कार्यक्रममा तीव्रता ल्याउन सकिएमात्र स्थितिमा परिवर्तन आउने समाजशास्त्री दाहाल बताउँछन् । 

यसका लागि सङ्घीय, प्रादेशिक र स्थानीय सरकारले प्रभावकारी कदम चाल्नुपर्ने र राजनीतिक दलको तत्परतासमेत आवश्यक रहेको बर्दिवास जनता बहुमुखी क्याम्पस बर्दिवासका प्राचार्य तोप ठकुरीको ठम्याइ छ ।

सबै तस्बिर : गुगल डट कम

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनबारे

काठमाडौं : बजारमा स्वस्थ मान्छेको ज्यान लिने विषाक्त रसायन मिसाइएका स्यानिटाइजर फेला पर्ने क्रम रोकिएको

काठमाडौं : सरकारले कोरोना महामारीका कारण नेपालमा बन्द रहेको पदयात्रा र पर्वतारोहण खुला गरेको छ

काठमाडौं : महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमणबाट एक कर्मचारीको मृत्यु भएको छ । अस्पतालमा

काठमाडौं : धरानमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बीपी कोइराला

दिक्तेल : खोटाङको दिप्रुङ चुएचुम्मा गाउँपालिकाभित्रका ४८ विद्यालयमा सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा तथा

काठमाडौंः सरकारले असोज ८ र १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।

धरानः धरान उपमहानगरपालिका-२ की कोरोना संक्रमित महिलाको उपचारको क्रममा आज (सोमबार) मृत्यु भएको छ ।

काठमाडौं : १६ वर्ष मुनिका बालिका बलात्कार गरी हत्या गर्ने घटनाविरुद्धका कानुनी प्रावधानमा कडाइ पार्नका

काठमाडौं : यातायता व्यवस्था विभागले असोज २० गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको

काठमाडौं– संघीय संसदमा प्रतिनिधित्व गर्ने महिला सांसदहरुले संविधान संशोधन गरेर १६ वर्ष मुनिका बालिकालाई बलात्कार

काठमाडौंः प्रधानमन्त्री एवंं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद