मेक्सिकोको सीमा बन्द गराउने ट्रम्पको चेतावनी



काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमामा पर्खाल लगाउन कंग्रेसले रकम उपलब्ध नगराए सीमा बन्द गर्ने चेतावनी दिएका छन् । राष्ट्रपति ट्रम्पले गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्ने आप्रवासी रोक्न आफूले सीमामा पर्खाल लगाउने तयारी गरेकाले अमेरिकी कंग्रेसले रकम उपलब्ध गराउनुपर्ने भन्दै रकम नदिए मेम्सिकोसँगको सीमा नै बन्द गर्ने चेतावनी दिएका हुन् ।

 

राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै की हामीले सीमामा पर्खा लगाउनुपर्छ होइन भने सीमा नै बन्द गर्नुपर्ने बताएका छन् । राष्ट्रपति कार्यालय ह्वाइट हाउसले पनि सीमा बन्द गर्ने चेतावनी औपचारिक रुपमा पुष्टि गरेको छ । अमेरिकी संघीय बजेटका बारेमा एक हप्तादेखि जारी अवरोधका कारण अमेरिकी संघीय सरकारी निकाय आंशिक रुपमा ठप्प भएका छन् ।

 

ट्रम्पले प्रस्तावित सीमा पर्खालका लागि संघीय बजेटमा रकम व्यवस्था गर्नुपर्ने अडान लिएपछि बजेटमा अवरोध सिर्जना भएको हो । संघीय बजेटमा सीमा पर्खालका लागि रकम व्यवस्था गर्नेबारे कंग्रेससँगको छलफल अवरुद्ध भएको छ ।

 

बजेटमा रहेको विवादका कारण सरकारी कार्यालयहरु बन्द भएका छन् । विभिन्न संघीय कार्यालयमा कार्यरत हजारौं कर्मचारी अहिले बेतलबी बिदा वा तलब कहिले पाउने भन्ने अनिश्चितताको अवस्थामा काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्