हात्ती महोत्सव सम्पन्न



चितवन : पर्यटकीय नगरी सौराहामा आयोजना गरिएको १५औँ हात्ती महोत्सव आज सकिएको छ । प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले कार्यक्रमको समापन गरे ।  

अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आन्तरिक तथा वाह्य पर्यटन प्रवर्द्धन गर्दै लोप हुँदै गएको हात्तीको संरक्षण र यसको महत्वबारे जानकारी दिन तथा वन्यजन्तु संरक्षणमा एकजुट हुन हात्ती महोत्सव गरिएको होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेले बताए । 

यसैबीच हात्ती महोत्सव २०७५ अन्तर्गत हात्तीका छावाबीचको फुटबलको उपाधि एनआईसी एशिया बैंकले हात पारेको छ । प्रतियोगितामा एनआईसी एशिया बैंकले सीजी फुड्सलाई निर्धारित ३० मिनेटको खेलमा २ का विरुद्ध ५ गोल गर्दै उपाधि हात पारेको हो । 

यस्तै महोत्सवअन्तर्गत अन्तर्राष्ट्रिय हात्ती पोलोको उपाधि सौराहाकै होटल सेभेन स्टार प्रालिले जितेको छ । सौराहाको बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा सम्पन्न फाइनल खेलमा एमई ट्राभल एण्ड टुर्सलाई ३ का विरुद्ध ५ गोल गर्दै होटल सेभेन स्टारले उपाधि हात पारेको हो । 

हात्तीको छिटो हिँडाइ प्रतियोगितामा सौराहा बचत तथा ऋण सहकारी संस्थाको बिजुलीकली प्रथम, नाटाको लक्ष्मिकली दोस्रो र नारायणगढको मिनि सपको बम्बुटकली तेस्रो भएका छन् । 

हात्तीको संरक्षण सँगसँगै पर्यटकीय क्षेत्रको विकास र प्रचारप्रसारका लागि आयोजना गरिएको प्रतियोगितामा विभिन्न देशको सहभागीता थियो । 

हात्तीपालो प्रतियोगिता हेर्न नेपालसहित विदेशी पर्यटकसमेत सहभागी भएका थिए । हात्तीको प्रयोग गरी मान्छेले खेलिने सो प्रतियोगिता विदेशी पर्यटकका लागि निकै लोकप्रिय मानिन्छ । 

प्रतिक्रिया दिनुहोस्