आज सागको अन्तिम दिन : रिङरोडभित्र बिजोर नम्बरको गाडी निषेध



काठमाडौं : १३ औँ दक्षिण एसियाली खेलकुद (साग)को समापन आज (मंगलबार) हुँदैछ । समापनको दिन ट्राफिक व्यवस्थापन मिलाउन ट्राफिक महाशाखाले आज रिङरोड भित्र जोड नम्बर भएका सवारी साधन मात्रै चल्ने व्यवस्था गरेको जनाइएको छ ।

यस प्रणालीबाट सवारी साधनको न्यूनीकरण र सडकमा चाप कम हुने जनाइएको छ । सागलाई मध्यनजर राखेर ठूला सवारी साधनलाई पनि रिङरोड प्रवेशमा रोक लगाइनेछ ।

सागको उद्घाटन भएको दिन बिजोर नम्बरका सवारीसाधन चलाउन अनुमति ट्राफिक महाशाखाले दिएको थियो । सो व्यवस्था सागको डेलिगेसन कार्ड हुनेहरुलाई लागू नहुने जनाइएको छ ।

यही मंसिर १५ गते काठमाडौंको दशरथ रंगशालामा सागको भव्य उदघाटन गरिएको थियो । सागको उद्धघाटन हुँदा त्यहाँको आकाश आतिशबाजीको झिलिमिलीले रंगिएको थियो ।

त्यसले सागको औपचारिक कार्यक्रममा रौनक थपेको थियो । रंगशालाको एकातर्फबाट मात्र आतिशबाजी गरिँदा केही खल्लोपन महसुस भएपनि तिहारको समयमा पनि लुकाएर आतिशबाजी गर्नुपर्ने बाध्यता रहेका काठमाडौंवासीलाई यसले केही मनोरञ्जन दिएको थियो ।

समारोहको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्धघाटन गरेकी थिइन् । तामझामपूर्ण भएको उद्धघाटन समारोहमा विभिन्न किसिमका झाँकी, नृत्य, गायन तथा परेड लगायतका कार्यक्रमहरु प्रस्तुत गरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्