तीन केजी कोकिनसहित बोलेभियन महिला पक्राउ



काठमाडौं : नेपाली बजारलाई लक्षित गरेर काठमाडौं भित्र्रयाइएको तीन किलो कोकिनसहित प्रहरीले एक बोलिभियन महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४१ वर्षीया हेरा आर्तेगा हुन् । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएका प्रहरी टोलीले उनलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । उनी ब्राजिलबाट दुबई हुँदै काठमाडौं उत्रिएकी थिइन् । ज्याकेटमा फल्स बटन बनाई उनले कोकिन ल्याएको प्रहरीको भनाइ छ ।

ब्युरोका एसएससपी वसन्त लामाले बरामद लागुऔषध काठमाडौंमै खपत हुने उद्देश्यले ल्याइएको बताए । तर, उनले कसका लागि ल्याएको भन्ने खुलिसकेको छैन । ‘ज्याकेटभित्र फल्स बनाई तीन किलो कोकिनसहित पक्राउ परेकी महिलाले काठमाडौंमा कसैलाई जिम्मा दिने उद्देश्यले लागुऔषध ल्याएको बताएकी छिन् । तर, ती व्यक्ति को हुन्, त्यसको सम्बन्धमा भने केही खुलेको छैन । अनुसन्धान जारी छ,’ उनले भने । प्रहरीका अनुसार अवैध बजारमा कोकिन प्रतिग्राम न्यूनतम ३५ हजार रुपैयाँमा बिक्छ । यस आधारमा बरामद कोकिनको मूल्य १० करोड पचास लाख रुपैयाँ हुन्छ । एसएसपी लामाले अवैध बजारमा कोकिनको मूल्य निकै महँगो पर्ने बताए ।

यसअघि प्रहरीले अवैध कोकिनसहित आइभोरिकोस्टका नागरिक मार्केल गुही र बाज्रिलियन नागरिक सर्गिओ त्रुसलाई पक्राउ गरेको थियो । पक्राउमध्ये गुहीबाट एक किलो ६ सय ग्राम र त्रुसबाट दुई किलो एक सय ग्राम कोकिन बरामद भएको थियो । बरामद कोकिनको मूल्य १२ करोड ९५ लाख रुपैयाँ पर्छ ।

 सबैभन्दा ठूलो परिमाणको कोकिन जर्मनीमा बरामद
न्युयोर्क पोस्टका अनुसार यस वर्ष सबैभन्दा ठूलो परिमाणको कोकिन जर्मनीमा बरामद भएको छ । बरामद कोकिनको परिमाण ४.५ टन रहेको छ । जसको अवैध बजारमा बिक्री हुने मूल्य एक अर्ब १० करोड अमेरिकी डलर हुन्छ । सो कोकिन उरुग्वेबाट पानीजहाज हुँदै जर्मनी आएका थियो । गत २ अगस्टमा ल्याइएको कोकिन भटमासको पोकोभित्र लुकाइएको थियो ।

संयुक्त राष्ट्रसंघको वल्र्ड ड्रग रिपोर्ट २०१९ का अनुसार विगतको तुलनामा सन् २०१७ मा कोकिनको उत्पादन सबैभन्दा धेरै रह्यो । सो वर्ष विश्वमा १९७६ टन कोकिन उत्पादन भएका 
थिए । यो परिमाण विगतको भन्दा १३ प्रतिशतले धेरै हो । रिपोर्टअनुसार विश्वमा सबैभन्दा धेरै कोकिन उत्पादन गर्ने मुलुक कोलम्बिया हो । विश्वमा तस्कर हुने कुल बजारको ७० प्रतिशत हिस्सा कोलम्बियामा उत्पादन हुने कोकिनले ओगट्छ । प्रतिवेदनका अनुसार विश्वभर कोकिनका दुव्र्यसनी मात्रै १८ लाख छन् । यो समाचार आजको नयाँपत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्