किन बस्यो दाहाल निवासमा छुट्टै बैठक ?



काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कार्यालयमा स्थायी कमिटी बैठक चलिररहँदा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल निवासमा भने समानान्तर बैठकको अभ्यास गरिएको छ।

सोमबार दिउँसो स्थायी कमिटी बैठक सुुरु हुनुअघि दाहाल निवास खुमलटारमा पूर्वमाओवादी खेमाबाट स्थायी कमिटीमा रहेका नेताहरूलाई बोलाएर बैठक गरिएको थियो।

स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष दाहालबाट प्रस्तुत राजनीतिक प्रतिवेदनमा पार्टीभित्र गुट मौलाउँदै गएकाले छुट्टै भेला गर्ने, बैठक गर्ने जस्ता कार्य बन्द गर्नुपर्छ भनेर उल्लेख भए पनि उनैबाटै त्यसको उल्लंघन भएको छ।

‘पार्टी संस्थागत छैन। बरु विभिन्न प्रकारका गुट झाँगिदै जान थालेका छन्। पार्टीभित्र घात, अन्तर्घात र अराजकताका प्रवृतिहरू बढिरहेका छन्। पार्टी अनुशासनको स्तर दयनीय अवस्थामा छ। पार्टी अनुशासनको स्थान गुट अराजकताले लिने खतरा बढ्दै गएको छ। अलोचना, आत्मालोचना, राम्रो काम गर्नेलाई प्रोत्साहन, गल्ती गर्नेलाई दुरुत्साहन जस्ता सजीव र गतिशील कम्युनिस्ट पार्टीका निम्ति अपरिहार्य विधि र प्रणालीको पालना भइरहेको छैन,’ स्थायी कमिटिमा प्रस्तुत प्रतिवेदनमा लेखिएको छ।

आफैंले तयार पारेका प्रतिवेदनलाई चुनौती दिँदै दाहाल स्वंयले पूर्वमाओवादी खेमाका नेतालाई निवासमा बोलाएर बैठक गरेको स्रोतले जनाएको छ। यस विषयमा प्रधानमन्त्रीसमेत रहेका पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई कुनै जानकारी दिइएको छैन। स्वास्थ्यका कारण ओली स्थायी कमिटी बैठकमा उपस्थित भएका छैनन्।

स्थायी कमिटी बैठक सुरु भएको दोस्रो दिन सोमबार बिहान दाहालले आफ्नै निवास पूर्वमाओवादी खेमाका नेताहरूलाई बोलाएर बैठक गरेका थिए। दाहालले बोलाएको यो बैठक स्थायी कमिटी बैठकमा उनैद्वा्रा प्रस्तुत राजनीतिक प्रतिवेदनको मर्म र भावनाविपरीत छ।

स्रोतका अनुसार खुमलटार बैठकमा समग्र पार्टी हितमा धारणा राख्ने भनिए पनि सभामुख खोसिने चिन्ता व्यक्त भयोे। यसअघि पूर्वमाओवादी खेमाबाट सभामुख बनाइएको थियो।

सभामुख कृष्णबहादुर महराले यौन दुव्र्यवहार आरोपमा राजीनामा दिएपछि नयाँ सभामुख कसलाई बनाउने भन्ने विषयमा नेकपामा अनुकूल पात्र खोजी भइरहेको छ। स्थायी कमिटी बैठकमा पूर्वमाओवादी खेमाका नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, हरिबोल गजुरेल, पम्फा भुसाल, देव गुरुङ, वर्षमान पुन, अग्नि सापकोटा, देवेन्द्र पौडेललगायत १४ जना सहभागी थिए। स्थायी कमिटीमा पूर्वमाओवादीबाट १९ जना छन्। आजको नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्