अमेरिका पुगेका युवालाई हत्कडी लगाएर नेपाल फर्काइयो



काठमाडौं : अवैध रूपमा अमेरिका छिर्ने प्रयास गर्दा पक्राउ परेका पाँच नेपालीलाई अमेरिकाले विमान नै चार्टर गरी नेपाल ल्याएर छाडिदिएको छ  । अमेरिका–मेक्सिको सीमामा विभिन्न समयमा पक्राउ परेका उनीहरूलाई जेल सजायपछि निष्कासन गरी नेपाल फर्काइएको हो । 

उनीहरू रुकुम, दाङ, बाग्लुङ र नवलपरासीका छन् । बुधबार दिउँसो नेपाल अवतरण गराइएका उनीहरूलाई जहाजमा रहँदासम्म हत्कडी लगाइएको थियो । केहीले अमेरिका पुग्न एक करोड रुपैयाँसम्म खर्च गरेको बताएका छन् । तर, घर जान उनीहरूसँग बसभाडासमेत थिएन । प्रहरीले नै उनीहरूलाई बसभाडा दिएर घर पठाएको छ । 

अमेरिकाबाट उडेको १३ सिटे चार्टर विमानमा पाँच नेपाली र तीन पाकिस्तानी नागरिक थिए । तीन पाकिस्तानीलाई उनीहरूको देशमा छाडेपछि नेपाली लिएर विमान काठमाडौं आएको हो । उनीहरूलाई लिन मानव बेचबिखन नियन्त्रण ब्युरोका प्रहरी अधिकारीहरू विमानस्थल पुगेका थिए । 

एक युवा विद्यार्थी भिसामा अमेरिका पुगेको खुलेको छ । रुकुमका एक युवाले अमेरिका जाँदा र त्यहाँ मुद्दा लड्दा करिब एक करोड सकिएको बताए । मुद्दा लडिरहेकै बेला अर्काे व्यक्तिको नाममा ट्राभल डकुमेन्ट बनाएर नेपाल फकाईएको उनले बताए । अरु तीन युवा मानव तस्कर समूहको पछि लागेर मेक्सिको हुँदै अमेरिका छिर्न खोज्ने क्रममा पक्राउ परेका हुन् । उनीहरूको प्रतिव्यक्ति करिब ५० लाख खर्च भएको छ । 

‘मेक्सिकोमा पक्राउ परे सबै पैसा फिर्ता गर्छाै भनेका थिए,’ नेपाल फर्किएपछि बुधबार ब्यूरोका प्रहरीसँग उनीहरूले भने, ‘बोर्डरमा पक्राउ परेकाले सबै पैसा डुब्यो ।’ उनीहरू सात महिना लगाएर अमेरिकाको बोर्डरमा पुगेका थिए । उनीहरूसँग छलफल गरेर अनुसन्धान थालिएको ब्यूरोका डिएसपी नरहरी रेग्मीले बताए । युवाले अमेरिका लैजाने समूहबारे भने बताउन चाहेनन् । 

अमेरिकाले अवैध आप्रवासीलाई प्लेन चार्टर गरी नेपालमै ल्याएर छाडिदिएको दोस्रो पटक हो । गत वर्ष पनि यसैगरी नेपाल ल्याएर छाडिदिएको ब्यूरोका डिएसपी रेग्मीले बताए । दलालको पछि लागेर अमेरिका छिर्न खोज्दा पक्राउ परेका एक हजार भन्दा धेरै नेपालीहरू अहिले पनि अमेरिकी जेलमा छन् । 

अमेरिका छिर्न हिँडेका १० हजार नेपाली बाटोमा
अवैध बाटो हुँदै अमेरिका छिर्न खोज्ने नेपालीहरूको संख्या बढ्दै गएको छ । मानव बेचबिखनमा अनुसन्धान ब्यूरोका प्रहरी अधिकारीका अनुसार अमेरिका छिर्ने सपनामा अहिले करिब १० हजार नेपाली विभिन्न देशमा छन् । त्यसरी जानेमध्ये धेरैजसो मेक्सिको–अमेरिकाको सीमामा पक्राउ पर्छन् भने कतिपय अन्य देशबाटै अलपत्र परेर फर्कने गरेका छन् । ‘अमेरिका जाने सपनामा अहिले ८ देखि १० हजार नेपाली बाटोमा रहेको हाम्रो अनुमान छ,’ ब्यूरोका प्रमुख एसएसपी ईश्वरबाबु कार्की भन्छन्, ‘अमेरिका जान एक व्यक्तिले कम्तीमा २० लाख रुपैयाँ खर्च गरेका हुन्छन् ।’ 

पछिल्लो समय अमेरिका लैजाने रुट इन्डोनेसिया र इथियोपिया बनिरहेको छ । ती देशले नेपालीलाई अन अराइभल भिसा दिने भएकाले ट्रान्जिट बनाइने गरिएको हो । त्यसपछि दक्षिण अमेरिकी देश बोलिभिया, कोलम्बिया, पानामा, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिका पठाइने गरिएको छ ।  अमेरिका जान खोज्दा अलपत्र पर्नेहरूमा रुकुमका धेरै छन् । त्यस्तै दाङ, बाग्लुङ, म्यादी र पर्वतका पनि धेरै रहेको डिएसपी रेग्मीले बताए । विगतमा ती जिल्लामा अवैध बाटो हुँदै अमेरिका पुगेको र त्यही आधारमा अन्य युवा समेत घरजग्गा धितो राखेर ऋण निकाली अमेरिका जाने सपनामा बिचल्लीमा परेका छन् । 

अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति भएयता मेक्सिकोको सीमामा कडाई गरिएको छ । जसकारण अमेरिका छिर्न खोज्नेहरू ९५ प्रतिशत पक्राउ पर्ने गरेका छन् । पक्राउ गरेर त्यहाँको अध्यागमनले उनीहरूविरुद्ध मुद्दा चलाउने गर्छ । मुद्दा जित्ने सम्भावना निकै कम हुन्छ । त्यसपछि अमेरिकाले उनीहरूलाई सम्बन्धित देशमा निस्कासन गर्छ । अवैध आप्रवासीलाई नियन्त्रण गर्न ट्रम्पले होमल्याण्ड सेक्युरिटी अन्र्तगत इमिग्रेसन एण्ड कस्टर्म इन्फोर्समेन्ट(इसीइ) नामक छुट्टै संयन्त्र बनाएका छन् । 

यूरोप छिर्ने सपना : इराकमा पाँच वर्षको कमाई गुम्यो 
 
यूरोप छिर्ने सपनामा पाँच नेपाली युवाले ४० लाख गुमाएका छन् । इराकमा अवैध रुपमा बसेर कमाएको पैसा खर्च गरेर यूरोप छिर्न खोज्ने क्रममा तीन युवक र दुई युवती ठगीएका हुन् । 

एक बंगलादेशी नागरिकले प्रतिव्यक्ति  सात हजार अमेरिकी डलर लिएर युरोप पठाइदिने विश्वास दिलाएका थिए । तर, टर्की पु¥याएपछि उनीहरूको पासपोर्टसमेत लिएर अलपत्र छाडिदिएका थिए । टर्की अध्यागमनले उनीहरूलाई ट्राभल डकुमेन्टका आधारमा नेपाल पठाइसकेको छ । शनिबार नेपाल आइपुगेका उनीहरूलाई अध्यागमन विभागले एक रात थुनामा राखेर अनुसन्धान गरेको थियो । प्रारम्भिक अनुसन्धानपछि थप अनुसन्धानका लागि प्रहरीमा बुझाइएको विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए । 

पीडितहरू रसुवा र काभ्रे जिल्लाका छन् । उनीहरू दलालकै पछि लागेर इराक गएका थिए । विमानस्थलमै सेटिङ मिलाएर इराक पुगेको उनीहरूले बताएका छन् । इराकबाट यूरोप छिर्न सके राम्रो कमाई हुने सपनामा बंगलादेशी नागरिकको पछि लागेका उनीहरूले उल्टै पाँच वर्षको कमाई समेत सकाए । 

पछिल्लो समय यूरोपेली देश पठाइदिने भनेर टर्कीमा लगेर अलपत्र पार्ने प्रवृत्ती बढेको प्रहरीले जनाएको छ । विभिन्न देश हुँदै टर्कीसम्म लैजाने र त्यहाँबाट धेरै फर्किने गरेका छन् । कतिपयलाई त्यहाँबाट समुद्री मार्ग हुँदै यूरोप छिराउने प्रयास हुने गरेको छ भने कतिपयलाई नक्कली भिसाको भ्रममा पार्ने गरिएको छ । सिरिया पुगेर अलपत्र पर्ने नेपाली पनि छन् । 

इन्डोनेसिया र इथियोपियाबाट १७ जनाको उद्धार 
अमेरिका जाने सपनामा इन्डोनेसिया र इथियोपिया पुगेर अलपत्र परेका १७ नेपालीको उद्धार गरिएको छ । एजेन्टको पछि लागेर अवैध रुपमा अमेरिका जाने क्रममा उनीहरू ठगिएका थिए । इन्डोनेसियाबाट ६ र इथियोपियाबाट ११ जनाको उद्धार भएको हो । उनीहरूलाई ठग्ने गिरोहबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

एजेन्टले इन्डोनेसिया बोलाएर सम्पर्क नगरेपछि ६ जना त्यहाँ अलपत्र परेका थिए । उनीहरूले नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्यूरोलाई खबर गरेपछि अध्यागमनमा जान सुझाव दिएका थिए । उनीहरूको भिसाको म्याद सकिएको थियो । अध्यागमनले उनीहरूलाई नियन्त्रणमा लियो । पछि अध्यागमन विभागले उनीहरूको जरिवाना मिनाहा गराउन इन्डोनेसियाको अध्यागमनसँग आग्रह गरेको थियो । सोही अनुसार जरिवाना मिनाहा भएपछि नेपाल फर्किएका थिए । 

१५ देखि २५ लाख रुपैयाँसम्म बुझाएर उनीहरू इन्डोनेसिया पुगेको ब्युरोका डिएसपी नरहरी रेग्मीले बताए । ६ देखि ८ महिनासम्म उनीहरू इन्डानेसियामा अलपत्र परेका थिए । नेपाली एजेन्टहरूसँग मिलेर अन्तर्राष्ट्रिय गिरोहले अलपत्र बनाएको हो । 

सोही समूहले ११ जनालाई इथियोपियामा लगेर अलपत्र बनाएको हो । यसअघि पनि अमेरिका लैजाने भन्दै केही युवाहरूलाई इथियोपिया पु¥याइएको थियो । इन्डोनेसिया र इथियोपिया दुवैले नेपालीलाई अन अराइभल भिसाको सुविधा दिएका छन् । इन्डोनेसियामा त नेपालीहरूलाई अमेरिका लैजाने भनेर ठगी गर्ने धेरै गिरोह सक्रिय रहेको प्रहरी अधिकारीहरू बताउँछन् । 

मलावीबाट उद्धार गरिएकाहरू दुबई पुगे 
अमेरिका जाने सपनामा चार युवाले लाखौं गुमाए, यातना पनि भोगे । भियतनामबाट इथियोपिया, मदागास्कर, जोर्डन, युएई, अजरबैजानहुँदै मलावी पुर्‍याएर  बन्धक बनाइएको थियो । नेपाल प्रहरीले मलावीको प्रहरीसँग समन्वय गरेर उनीहरूलाई उद्धार गर्‍यो । तर, आफूहरूलाई दुःख दिने दलाल पक्राउन भन्दा जोगाउन उनीहरू सक्रिय भए । १५ लाखभन्दा धेरै गुमेका उनीहरूमध्ये दुई जना अहिले दुबई पुगिसकेका छन् । 

पीडितले उजुरी नदिँदा मानव बेचबिखन अपराधको अनुसन्धानमा चुनौती थपिएको ब्यूरोका प्रवक्ता एसपी गोविन्द थपलियाले बताए । विगतमा पनि प्रहरीले उद्धार गरेका पीडित उजुरी नै नगरी सम्पर्कविहिन हुने गरेका थिए । ठगी गर्नेहरू कतिपय पीडितकै आफन्त हुने र कतिपयले जाहेरी दिएपनि क्षतीपुर्ती नपाइने भएकाले उजुरी नदिने गरेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन् ।  

प्रतिक्रिया दिनुहोस्