‘लिभिङ टुगेदर’ छुटाएर राजपालाई नेकपासँग ‘अफेयर’ चलाउन कसले मिलायो तारतम्य ?



काठमाडौं : समाजवादी पार्टीसँग ‘लिभिङ टुगेदर’को सम्बन्ध गाँसेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले अहिले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग ‘अफेयर’ चलाएपछि राजनीतिक वृत्तमा नयाँ तरंग पैदा भएको छ । यसले राष्ट्रिय राजनीतिमा हलचल नै पैदा गरेको छ ।

समाजवादी पार्टीसँग पार्टी एकीकरणको प्रक्रिया र वार्तालाई तीव्रता दिएको राजपा नेपालले आकस्मिक रुपमा सत्तारुढ दल नेकपासँग राष्ट्रियसभा सदस्यको निर्वाचनमा सहमति सम्बन्धी सम्झौता गरेको छ ।

राजपाले नेकपासँग गरेको यो सम्झौताले समाजवादी पार्टीलाई झस्काएको छ । समाजवादी पार्टीलाई चक्मा दिँदै राजपाले सत्तारुढ दल नेकपासँग सहकार्यको हात फैलाएपछि नेपाली राजनीतिमा नयाँ तरंग आएको हो । गत फागुन २२ गते बिच्किएर सरकारलाई दिएको समर्थन फिर्ता लिएको राजपाले नेकपासँगको सहकार्य केबल राष्ट्रियसभा निर्वाचनसँग मात्र नजोडिएको एक नेता बताउँछन् ।

नेकपा र राजपाबीचको नयाँ समिकरणले राष्ट्रिय राजनीतिक, प्रदेश नम्बर २ को प्रदेश सरकार र अन्य मुद्दामा पनि बलियो प्रभाव पार्ने एक राजनीतिक विश्लेषकले द नेपाल टपलाई बताए । यो समिकरणले राजपालाई संघीय सरकारमा जान ढोका खुलेको छ भने उपसभामुख पदमा दाबी गर्न आधार मिलेको छ । यससँगै प्रदेश नम्बर २ को मुख्यमन्त्री बनाउन पनि राजपालाई अवसर प्राप्त भएको छ ।

स्थायी समितिको बैठक जारी रहेको बेला नेकपाले राजपासँग गरेको समिकरण नेकपाकै धेरै शीर्ष नेताहरुलाई जानकारी छैन ।

समाजवादी पार्टीसँग चुनावी तालमेल गर्ने पक्षमा रहेको पार्टीका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पनि बालुवाटार पुगेपछि आश्चर्यमा परेका थिए ।

१० महिनाअघि रेशम चौधरीलाई अदालतले जेल पठाएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिएको राजपासँग एकाएक नेकपाको लगनगाँठो कसरी कसिन पुग्यो भनेर राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ ।

नेकपा र राजपाबीचको ‘अफेयर’ सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले धेरै अघिदेखि शुरु गरेका हुन् । मन्त्री बाँस्कोटाले राजपालाई साथमा ल्याउन लामो समयदेखि गहन ढंगले वार्ता अघि बढाएका थिए ।

मुलुकको आवश्यकता भन्दै मन्त्री बाँस्कोटाले राजपासँगको वार्तालाई गोप्य राख्दै फुकि–फुकि कदम चालेका थिए । यस कार्यमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल पनि संलग्न रहेका थिए । बाँस्कोटाले राजकिशोर यादव राजपा अध्यक्ष मण्डलका संयोजक रहँदादेखि नै वार्ता अघि बढाएका थिए ।

बाँस्कोटाले यादव लगायत राजपाका नेताहरुसँग पटक–पटक छलफल गर्दै आएका थिए । जुन वार्ताले अन्ततः सहकार्य गर्ने विन्दुमा पुर्यायो ।

नेकपा र राजपाबीचको पछिल्लो समिकरणले राष्ट्रिय सभा सदस्यको निर्वाचन, सभामुख र उपसभामुखको निर्वाचनदेखि दुई नम्बर प्रदेश सरकारको गठबन्धनमा समेत प्रभाव पार्ने देखिन्छ ।

त्यसोत तत्कालिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रति आक्रामक ढंगले प्रस्तुत हुने राजपाका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतो प्रति गएको संसदीय निर्वाचनमा नरम ढंगले प्रस्तुत हुँदै आन्तरिक समर्थन गरेपछि महतो पनि नेकपाप्रति लचिलो हुँदै आएका थिए । महतो कै दवावमा जेलमा रहेका सांसद चौधरीलाई सपथ समेत खुवाइएको थियो ।

सरकारलाई दिएको समर्थन फिर्ता गरेपनि प्रधानमन्त्री ओली र राजपा अध्यक्ष मण्डलको संयोजकबीच बेलाबखतमा सम्पर्क हुँदै आएको थियो । प्रधानमन्त्री ओलीले राजपासँग वार्ता गर्न र फकाउन गोप्य ढंगले मन्त्री बाँस्कोटालाई जिम्मेवारी दिएका थिए । मन्त्री बाँस्कोटाले राजपालाई साथमा ल्याउन सकिने कुरा प्रधानमन्त्रीलाई बताएपछि ओलीले उनलाई यससम्बन्धी जिम्मेवारी दिएका थिए । यसपछि मन्त्री बाँस्कोटाले एक गोल गरेका छन् भने चार गोल गर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्