जवरजस्ती करणीमा सिद्धबाबालाई १० वर्ष कैद माग्दा वकिलहरुबीच हात हालाहाल



विराटनगर : जवरजस्ती करणीको अभियोगमा तानिएका सिद्धबाबाका नामले चिनिने कृष्णबहादुर गिरीविरुद्ध दश वर्षको कैद सजाय माग्दा अदालत परिसरमै वकिलहरुबीच हात हालाहाल भएको छ । उनको आफ्नै अनुयायी महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा अहिले अनुसन्धान भइरहेको छ ।

उनको विषयमा विवाद हुँदा सुनसरी जिल्ला अदालत परिसरमै दुई अधिवक्ताबीच हात हालाहाल भएको हो । केही समयअघि अधिवक्ताद्वय नोदराज आचार्य र अशोक मेहताबीच हात हालाहाल भएको बताइएको हो ।

ती वकिलहरुले सहमति करणी वा जवरजस्ती करणीको विषयमा विवाद हुँदा हात हालाहाल भएको प्रत्यक्षदर्शीले बताएका हुन् । उनीहरुले अदालत परिसरभित्रै रहेको बार एशोसिएसनको भवनमा कुटाकुटमा उत्रिएपछि लछार पछार हुँदा मेहताको सर्ट च्यातिएको बताइएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय सुनसरीले प्रहरी कार्यालयले दिएको अनुसन्धान रिपोर्टअनुसार गिरीले महिलामाथि करणी भएको दाबी गर्दै सातदेखि दश वर्षसम्म कैद सजायको माग गरी जरवजस्ती करणीअन्तर्गत मुद्दा दायर गरेको छ ।

सिद्धबाबालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको हिजो (बिहीबार) २५ दिन पुगेसँगै सरकारी वकिलले उक्त मुद्दा अदालत पुर्याएको हो । गिरीलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) ‘ङ’ अनुसार सजाय माग दाबी गरिएको सरकारी वकिलको कार्यालय स्रोतले जानकारी दिएको छ ।

मुद्दा दायरसँगै आज (शुक्रबार) कार्यालय खुलेसँगै गिरीको बकपत्र हुने जिल्ला अदालतले जनाएको छ । उनी पक्राउ परेपछि बिरामीको बहानामा निरन्तर विराटनगरस्थित एक अस्पतालमा बसिरहेका छन् ।

अपराध संहिताअनुसार अठार वर्ष वा अठार वर्षभन्दा बढी उमेरकी महिलामाथि करणी भए सात वर्षदेखि दश वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । त्यस्तै अभियोग पत्रमा पीडित महिलालाई उचित क्षतिपूर्ति दिन समेत माग गरिएको छ । यसैबीचमा घटनालाई मिलाउन दवाव दिएको टेलिफोन सम्वादको रेकर्ड पनि प्रहरीले संकलन गरेको छ । तर, त्यो सम्वाद आफुनो नभएको गिरीले बताएका छन् ।

काठमाडौं बसोबास गर्दै आएकी महिला अनुयायीमाथि करणी गरेको आरोप लागेका गिरीले पीडित महिलालाई टेलिफोन गरी मुद्दा फिर्ता लिन दवाव दिएका थिए । त्यस क्रममा रुँदै मुद्दा फिर्ता लिन दवाव दिएको टेलिफोन सम्वाद पीडित भनिएकी महिलाले रेकर्ड गरेकी थिइन् । यसरी आएको टेलिफोन र्वाता गिरीकै भएको पनि प्रहरीको विधि विज्ञान प्रयोगशालाले महिलाले रेकर्ड गरेको अडियो सिद्धबाबा गिरीकै भएको पुष्टि गरेको घटनाको अनुसन्धानमा संलग्न एक प्रहरी जानकारी दिएका छन् । गिरीविरुद्ध मुद्दा दायर भएपछि उनलाई फेरी विराटनगर अस्पताल फकाइएको छ ।

प्रतिक्रिया दिनुहोस्