एक्कासि बाजासहितको स्वागतले पर्यटक छक्कै



काठमाडौं : काठमाडौँ महानगरपालिकाले नेपाल भ्रमण वर्ष २०२०को पहिलो दिन (आज) वसन्तपुर घुम्न आउने पर्यटकलाई बाजागाजा र उपहारसहित स्वागत गरेको छ ।

सामान्यरूपमा वसन्तपुर घुम्न पुगेका पर्यटक एक्कासि बाजागाजासहित स्वागत र उपहार पाउँदा छक्कै भए । घुम्न आउने पहिलो पर्यटक ब्राजिलका गुस्तव बाटो थिए ।

उनलाई जुद्ध शालिकतर्फ (काउन्टर १) मा वडा २३ का अध्यक्ष मचाराजा महर्जनले स्वागत गरेका थिए । स्वागत पाउन थालेपछि केही पर्यटक कानेखुशी गर्न थाले भने केही सेल्फी र तस्वीर कैद गर्न व्यस्त देखिए ।

भ्रमण वर्षको शुभारम्भको दिन आज काउन्टर तीन मरुतर्फबाट वडा २० का अध्यक्ष राजेन्द्र मानन्धरले, काउन्टर ४ प्याफलतर्फ वडा १९ का अध्यक्ष शशीलाल श्रेष्ठले र काउन्टर ५ इन्द्रचोकतर्फबाट वसन्तपुर आउने पर्यटकलाई वडा २४ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठले स्वागत गरे ।

अप्रत्याशित स्वागत पाउँदा पर्यटक फोटो खिच्न र भिडियो बनाउन व्यस्त देखिएका थिए । हनुमानढोका दरबार संरक्षण कार्यक्रमका प्रमुख रोशन शाक्यका अनुसार भ्रमण वर्षको पहिलो दिन आज सार्क राष्ट्रबाट ३८ जना र अन्य देशबाट २७२ जना पर्यटकले वसन्तपुरको भ्रमण गरेका छन् । उनीहरुबाट रु तीन लाख ८५ हजार ७०० राजश्व सङ्कलन भएको जनाइएको छ ।

आज साँझ सङ्घीय राजधानी काठमाडौँस्थित दशरथ रङ्गशालाबाट राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको शुभारम्भ गरे भने सोही समयमा सातवटै प्रदेश सरकारले विभिन्न पर्यटकीय क्षेत्रबाट भ्रमण वर्षको शुभारम्भ गरेको छ । भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ । सरकराले आगामी दशकलाई पर्यटन दशकको रुपमा मनाउने तयारी गरेको छ । –रासस

प्रतिक्रिया दिनुहोस्