मिनि संसदमा गुलियो चिनीको अमिलो कुरा



काठमाडौं : जनताको आवाज मुखरी गर्ने संसद प्रतिनिधि सभाको बैठक अनिर्णयको बन्दी भइरहदा मिनि संसद भनेर चिनिने प्रतिनिधि सभाअन्तर्गत समितिको बैठकमा पीडित उखु किसानहरुको कुरा पुगेको छ ।

प्रधानमन्त्री, श्रम, रोजगार तथा समाजिक मन्त्री र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री पदेन सदस्य रहेको प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा आज (आइतबार) पीडित उखु किसानहरुले सरकारसँग भएको सम्झौता कार्यान्वयन गर्न दवाव दिने उद्देश्यले सांसदहरुलाई गुहारेका छन् ।

सरकारका प्रतिनिधिहरु अनुपस्थित रहेपनि उखु किसानहरुले सरकारसँग भएको सम्झौता कार्यान्वयन नभएमा आफूहरुले उखु बाली नगर्ने बताउँदै त्यसको विकल्पमा अन्य बाली रोप्ने चेतावनी समेत दिएका छन् ।

पीडित उखु किसानहरुले वर्षैसम्म आफूहरुले उखु बेचेको रकम भुक्तानी नपाउदा घर व्यवहार चलाउन देखि छोराछोरी पढाउन समेत अप्ठ्यारो परेको भन्दै आफ्नो पीडा बैठकमा सुनाएका थिए ।

मधेशी पत्रकार समाजको संयोजनमा समिति, सरोकारवाला, चिनी मिल सञ्चालकका प्रतिनिधि र सञ्चारकर्मीहरुबीच भएको उक्त छलफल बैठकमा उखु किसानहरुले किसानले उत्पादन गरी विक्री गरेको उखुको मूल्य समयमै भुक्तानी गर्न आग्रह गरेका थिए ।

यता उखु सञ्चालकले भने आफ्नो उखु मिल घाटामा गएको र बैंकहरुले दिनुपर्ने सेवा सुविधामा कटैती गरेका कारण पनि उखु मिल समस्यामा परेको बताएका थिए ।

तर, चिनी मिल सञ्चालकहरुले आफ्नो जे समस्या भएता पनि उखु किसानहरुले दुःख जिलो गरेर वर्षभरी लगाएर उत्पादन गरेको उखुको खरिद गरेपछि समयमै भुक्तानी नदिँदा किसानहरु मर्कामा परेको भन्दै सहभागीहरुले किसानहरुको सयममै भुक्तानी दिन र चिनी मिल सञ्चालकहरुको समस्या भए सम्बन्धी निकायले ध्यान दिन आग्रह गरे ।

समितिका सभापति सांसद विमल प्रसाल श्रीवातवले उखु किसानका पीडामा समिति गम्भीर भएको बताउँदै उखु किसान र सरकारबीच भएको सम्झौता कार्यान्वयनका लागि समितिका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्