असोज २४ देखि रुट परमिट खुला



काठमाडौँ : यातायात व्यवस्था विभागले असोज २४ गतेदेखि सार्वजनिक सवारी साधनलाई इजाजतपत्र (रुट परमिट) खुला गरेको छ । 

 

विभागले नेपालीको महान् पर्व दशैँ, तिहार र छठ नजिकिएसँगै काठमाडौँ बाहिर जाने र आउने यात्रुलाई सहज र आरामदायी बनाउन असोज २४ देखि ३१ गतेसम्म इजाजतपत्र खुला गरेको हो ।

 

विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले इजाजतपत्र खुला भएसँगै सवारी चालकले यात्रुलाई सहज रुपले गन्तव्यमा पुर्याउन र ल्याउन पालो पर्खनु नपर्ने भएकाे बताए । 

 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला इजाजतपत्र खुला भएसँगै चाडबाडको समयमा यात्रुलाई सुरक्षित गन्तव्यमा ल्याउन तथा लैजान सहज भएकाे बताउँछन् । 

विभागले सो समयमा सामान बोकेर काठमाडौँ भित्रिने ठूला सवारी साधनलाई सञ्चालनमा रोक लगाएको छ । ठूला सवारी साधन बाटोमा गुड्दा अरु सवारी साधनलाई आवागमनमा समस्या हुने भएकाले असोज २४ देखि ३१ सम्म नारायणघाटबाट काठमाडौँ आउने सवारी साधनलाई रोक लगाएको हो । 

प्रतिक्रिया दिनुहोस्