अब महानगरभित्रका निजी विद्यालयको नाम नेपालीमा 



काठमाडौं : काठमाडौं महानगरपालिकाले संस्थागत (निजी) विद्यालयको नाम नेपाली भाषामै राख्न लगाउने भएको छ । महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले आगामी शैक्षिक सत्रदेखि यसलाई अनिवार्य बनाउन लागिएकोे बताए । महानगरले विद्यार्थीलाई दिइने परिचयपत्र पनि नेपाली भाषामै हुनुपर्ने व्यवस्था गर्ने भएको छ ।

‘अङ्ग्रेजी भाषामा विद्यालय र विद्यार्थीको नाम हुँदा आफ्ना छोराछोरी कुन स्कुलमा पढ्छन् र उनीहरुको नाम के हो भन्नेमा अभिभावकमा अन्योल देखियो’, कोइरालाले भने, ‘त्यसैले यस विषयमा अभिभावकलाई सहज गराउन यस्तो व्यवस्था गराउन लागिएको हो ।’

 

शिक्षा अधिकारी कोइरालाले विद्यालयले अङ्ग्रेजीमा पनि लेख्न वा नलेख्नका लागि भने स्वतन्त्र छाडिने जानकारी गराए । यसअघि सरकारले अङ्ग्रेजी नाम भएका कलेजका नाम नेपाली भाषा, मौलिक संस्कृति झल्कने खालको राख्न निर्देशन दिए पनि कलेजले उक्त निर्देशन अहिलेसम्म कार्यान्वयन गरेका छैनन् । 

 

महानगरभित्र ६ सय ४० वटा संस्थागत विद्यालय छन् । तीमध्ये अधिकांशको नाम अंग्रेजी भाषामा छ ।

कोइरालाले शिक्षा समितिबाट निर्णय गरेपछि सोहीअनुसार नेपाली भाषालाई प्रभावकारी कार्यान्वयन गराउन प्याब्सन र एनप्याब्सनलाई निर्देशन दिइने जानकारी गराए । 

प्रतिक्रिया दिनुहोस्