पहिले पानी बाराबार, अहिले ‘माया पिरती’



जनकपुरधाम : कुनै समय यस्तो थियो नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश नम्बर २ का कुनै जिल्लामा सार्वजनिक कार्यक्रम वा आमसभा गर्दा राजपाका नेता तथा कार्यकर्ताहरु त्यसको विपक्षमा मात्रै होइन् रोक्ने तहसम्म नै उत्रन्थे । त्यसले गर्दा बेला बखतमा तनावसम्म उत्पन्न हुन्थ्यो । तर, अहिले त्यो परिस्थितिमा काफि बदलाव आएको छ । अर्थात हिजो एक आपसमा शत्रुगत व्यवहार गर्ने नेकपा र राजपाका नेता तथा कार्यकर्ताहरु अहिले काँधमा काँध र कुममा कुम मिलाउँदै मात्र होइन् यि दुई पार्टीका झण्डा सँगसँगै लिएर संयुक्त रुपमा जुलुस निकाल्न पुगेका छन् ।

यो दृश्यले प्रदेश नम्बर २ का जनताबीच कैतुहलत उत्पन्न गरेको छ । जनताको प्रश्न छ – के साच्चिकै नेकपा राजपाका नेता तथा कार्यकर्ताहरु राष्ट्रिय सभा सदस्यको निर्वाचमा मनोनयन दर्ता गर्दाको जस्तै दोस्ती आगामी दिनमा पनि रहला ? यो प्रश्नको उत्तर नेकपा र राजपाका नेताहरुसँग मात्र छ । जुन कुरा भविष्यले देखाउने छ । यसको अर्थ हो, प्रदेश नम्बर दुईमा नेकपा र राजपाबीचको यो लगन गाँठो संघीय तहमा मात्र हो की प्रदेश नम्बर २ को सरकारसँग पनि सम्बन्धित छ भनेर अर्थ पूर्ण ढंगले हेरिएको छ ।

यसको सिँधा उत्तर हो, अब के प्रदेश नम्बरको दुईको सरकार परिवर्तन हुँदै छ, प्रदेश सरकारको नेतृत्व राजपाले गर्दै छ ?यो प्रश्न नेकपा नेताहरुलाई मात्र होइन्, राजपाको संघीय कार्यालय काठमाडौंको बबरमहलसँगै राजपाका नेताहरुलाई सोधिने आम प्रश्न बनेको छ ।

आइतबार प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा बेग्लै दृश्य देखिन पुग्यो । त्यो दृश्य हो नेकपा र राजपाका नेता तथा कार्यकर्ता एक अर्काको झण्डा फहराउदै काँधमा काँध र हातमा हात मिलाएर राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न जनकपुरस्थित निर्वाचन कार्यालय पुग्दाको ।

हिजो उम्मेदवारी दर्ता गर्ने क्रममा नेकपा र राजपा पार्टीको संयुक्त जुलुस देखियो । जुन प्रदेश २ का लाई नौलो थियो । कुनै समय तित्ततापूर्ण सम्बन्ध रहेका दुवै पार्टीलाई यो निर्वाचनले सँगसँगै उभ्याएको छ ।

मधेशविरोधी पार्टी भन्दै नेकपाको नामसमेत सुन्न नचाहने राजपाका नेता तथा कार्यकर्ता उसैका नेता तथा कार्यकर्तासँग काँधमा काँध मिलाउँदै आफ्नो पार्टीको झण्डासहित जनकपुरमा नारा जुलुस गर्दै थिए ।

त्यसोत मधेशको इतिहासमै नेकपा र राजपाको पहिलो मिलन जुलुस थियो । नेकपा र राजपाको संयुक्त टोली नेकपा कार्यालयबाट मनोनय दर्ताको लागि निस्केका थिए ।

आगामी माघ ९ गते हुने राष्ट्रियसभा चुनावका लागि नेकपा र राजपाले २ पुसमा २ बुँदे सहमति गरेका थिए । प्रदेश २ मा ४ पदका लागि हुने राष्ट्रियसभा चुनावका लागि यी दुई दलले २–२ पद भागबन्डा गरी तालमेल गरेका छन् । त्यही सहमतिअनुसार उनीहरूले आइतबार संयुक्त रूपमा जुलुस प्रदर्शन गर्दै जनकपुरस्थित निर्वाचन कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गराएका हुन् ।

उम्मेदवारी मनोनयन दर्ता पनि निर्वाचन कार्यालयमा झनै बेग्लै दृश्य देखियो । त्यो हो, नेकपा र राजपाका नेता तथा कार्यकर्ताहरूको सामूहिक फोटो सेसन ।

नेकपा र राजपाको यो मिलनले प्रदेश २ सरकारलाई संकट पर्ने संकेत गरेको छ । राजपाको समर्थनबाट मुख्यमन्त्री बनेका समाजवादी पार्टीका संसदीय दलका नेता लालबाबु राउत नेतृत्वको सरकार ढल्ने सम्भावना बढ्दै गएको छ । यससँगै अब प्रदेश २ मा नेकपा–राजपा गठबन्धनमा सरकार बन्ने चर्चा शुरु भएको छ ।

आगामी माघ ९ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनको १८ सिटका लागि आइतबार उम्मेदवारी मनोनयन दर्ता गरिएको छ । त्यसै अनुरुप प्रदेश २ मा समेत ४ सिटका लागि ८ जना उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् ।

प्रदेश २ मा राष्ट्रिय सभाको ४ सिटका लागि नेकपा र राजपा तथा नेपाली कांग्रेस र समाजवादी पार्टीले गठबन्धन गरेर उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी खुल्लातर्फ पनि समाजवादी र राजपाले उम्मेदवारी दर्ता गरेको छ ।

राजपाबाट राष्ट्रिय सभाका लागि उम्मेदवारी दिएका राजपाका वरिष्ठ उपाध्यक्ष मृगेन्द्र सिंह यादवले एक अर्का प्रतिको तिक्तता बिर्सेर नयाँ राजनीतिको बाटोमा दुवै दल मिलेर खोलेकोमा खुशी व्यक्त गरे । आफूहरुको मुद्दा यथावत नै रहेको जानकारी दिँदै यादवले आफूहरुको मुद्दालाई नेकपाले कुन रुपमा अगाडी बढाउने छ त्यसमाथि आगामी सहकार्यको बाटो निर्भर रहेको स्पष्ट पारे । उनले यी दुई पार्टी राष्ट्रिय सभा निर्वाचनकै लागि भएपनि एक ठाउँमा आउनुले राजनीतिमा कोही कसैको परमशत्रु वा सदाका लागि मित्र नहुने कुराको प्रमाणीकरण गरेको दाबी गरे ।

यता नेकपाबाट महिला कोटामा राष्ट्रियसभामा उम्मेवारी दिएकी तुलसा दाहालले नेपाली राजनीतिको सबैभन्दा सुन्दर पक्ष यही रहेको बताइन् । उनले कहिल्यै एक अर्कालाई गाली गर्ने दलहरु एकै साथ मिलेर चुनाव लड्नुलाई सकारात्मक रुपमा लिन अपिल गरिन् ।

दुवै दलका शीर्षस्थ नेताहरु यी दुई पार्टीबीचको सहकार्यबाट शीर्षस्थ नेताहरु हौसिएपनि तल्लो स्तरमा कार्यकर्ताहरुमा निराशा सहजै देख्न सकिन्थ्यो । एक जना राजपाका कार्यकर्ताले नाम नबताउने शर्तमा भने ‘मधेश आन्दोलनको समयमा हामी नेकपाविरुद्ध संविधान संशोधनको मुद्दा लिएर जुलुस तथा धर्ना दिन्थ्यौं, अहिले दुवै पार्टी एक ठाउँमा आएका छन्, संविधान संशोधन अहिलेसम्म भएको छैन कुन मुख लिएर जनता सामु जाउँ ।’

प्रतिक्रिया दिनुहोस्