आफ्नै सरकारका मन्त्रीहरू माथि राज्यमन्त्री मण्डलले लगाए ‘सुख सयल र मोज मस्ती’को आरोप



जनकपुरधाम : प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले प्रदेश नम्बर २ का कतिपय मन्त्री जनताको सेवाभन्दा सुख सयल र मोज मस्तीमा चुर्लुम्म ड्बेको आरोप लगाएका छन् ।

मन्त्री पदको दुरुपयोग गर्ने, यस महत्वपूर्ण जिम्मेवारीलाई सुख सयल र मोज मस्तीको रुपमा लिने, कतिपय मन्त्रीहरु गाडीका मोडेल हेर्न ब्रोसर पल्टाउँदै र शोरुम धाउँदै दिन बिताई रहेको भन्दै राज्यमन्त्री मण्डलले आफ्नै सरकारका मन्त्रीहरु प्रति कटाक्ष गरेका छन् ।

राष्ट्रिय जनता पार्टी नेपालका सहमहामन्त्री समेत रहेका राज्यमन्त्री मण्डलले सरकार सञ्चालन पद्धति र नेतृत्वको खरो आलोचना गरेका छन् ।

उनले एकलौटी होइन, सामूहिक निर्णयको आधारमा सरकार सञ्चालन गर्नुपर्ने बताए । निर्णय एउटा काम अर्कै हुँदा प्रदेश सरकार बदनाम हुन थालेको उनको टिप्पणी छ ।

आज (शुक्रबार) सामाजिक सञ्जाल फेसबुकमा उनले सरकारका मन्त्रीहरूको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लेखेका छन्, ‘प्रदेश नं २ सरकारमा ‘काम न काजका दुस्मन अनाजका’ भनाई चरितार्थ हुँदैछ । प्रदेश सरकारका कामकाजमा सिन्कासम्म भाँच्न नसकेका असफल मन्त्रीहरु महंगो गाडी किन्ने अस्वस्थ्य प्रतिस्पर्धामा जुटेका छन् । एक वर्ष अघि मात्र किनेको गाडी पुरानो पनि भएको छैन । गाडीको कन्डिसन पनि बहुतै राम्रो छ । प्रदेश कामकाजको लागि काफी नै छ । बक्यौता रकम तिर्न बाँकी नै छ तर पनि मन्त्री पदको दुरुपयोग गर्ने, यस महत्वपूर्ण जिम्मेवारीलाई सुख सयल र मोज मस्तीको रुपमा लिने कतिपय मन्त्रीहरु गाडीका मोडेल हेर्न ब्रोसर पल्टाउँदै र शोरुम धाउँदै दिन बिताई रहेका छन् । दोस्रो चौमासिक बित्न लाग्दा हालसम्म नयाँ योजना र कार्यक्रम समेत बनाउन नसकेका र गत आवका उपभोक्ताहरुको समस्या समाधान गर्न तिर लाग्नुपर्नेमा प्रदेश र जनताको पैसा फजुल खर्च गर्नतिर राज्यमन्त्रीहरुलाई समेत छलेर भ्रष्ट कर्मचारीहरुको मिलेमतोमा लाग्नु दुखद हो ।

उनले सरकार सबैको साझा भएकाले बिर्ता नठान्न मन्त्रीहरुको होस खुल्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्