ट्याक्टरको ठक्करबाट ज्यान गुमाएकाका आफन्तद्वारा कारबाहीको माग गर्दै प्रदर्शन



वीरगन्ज : वीरगन्ज कलैया सडकखण्डमा सवारी दुर्घटनामा ज्यान गुमाएका आफन्तहरुले वीरगन्जको बहुअरी चोकमा टायर बाली चक्काजाम गरेका छन् । मृतक धुरेन्द्र गिरीका आफन्त तथा स्थानीयले दोषीलाई कडा कारवाही र उचित क्षतिपुर्तीको माग गर्दै हुलाकी सडक अन्तरगत बहुअरी चौकमा टायर बाली चक्का जाम गरेका हुन् ।

स्थानीयले गरेको चक्काजामका कारण तीन घण्टा वीरगन्जबाट ग्रामीण भेगमा चल्ने सम्पूर्ण सवारी साधन तथा सुख्खा बन्दरगाह र आईसिपीबाट बाहिरिने तथा भित्रिने सम्पूर्ण मालबाहक सवारी साधन पूर्ण रुपमा आवत जावतमा ठप्प भएको थियो ।

करिब तीनघण्टा मुख्य सडक अवरोधपछि स्थानीय प्रशासनले कानुनी दायरामा ल्याउने र उचित क्षतिपुर्तीको लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएपछि प्रदर्शन स्थगित भएको थियो ।

आज विहान साढे पाँच बजे वीरगन्ज कलैया सडकखण्ड अन्तरगत बाराको मोतीसर चोक नजिकै नम्बर नखुलेको विच सडकमा पल्टिएको ट्याक्टरको टेलरमा ठोकिएर गिरीको मृत्यु भएको थियो । कलैयाबाट ना १५ प ५७४३ नम्बरको मोटरसाईकलमा सवारी गिरी वीरगन्ज तर्फ आईरहेको बेला दुर्घटनामा परी ज्यान गुमाएका थिए ।

विहान कुहिरोले ढोकेको अवस्थामा बीच बाटोमा उखु लोड सहितको पल्टिएको ट्याक्टरको टेलरमा ठोकिएको थियो । आफन्तहरुले ट्याक्टर चालकको लापरवाहीको कारण गिरीले अनाहकमा ज्यान गुमाउँनु परेकोले दोषीलाई हदैसम्म कानुनी कारवाही गरिनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्