सरकारले दिएको कोट रक्सी पिउन हजारमा बेचे राउटेले !



प्रदेश सरकारले दिएकाे काेटमा सजिएका राउटे ।

सुर्खेत : गत शनिबार कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट गएका कर्मचारी र सहयोगी संस्थाका टोलीले राउटे बस्तीमा धुमधामसँग नाचगान गरे । सुर्खेतको लेकबेसी नगरपालिका–१ थोत्रीखोलामा छाप्रा बनाएर बसिरहेका राउटेलाई आधुनिकतातर्फ ल्याउने भन्दै प्रदेश सरकारका तर्फबाट सामूहिक भोजका साथै राहत वितरण गरियो । आफ्नै थोत्रा पहिरनमा रमाउने राउटेलाई सामाजिकीकरण गर्ने भन्दै नयाँ कोट वितरण गरियो । 

एक दिनभरि रमाइलो गरेर मन्त्रालयका कर्मचारी तस्बि र खिँचाउँदै वीरेन्द्रनगर फर्किए । आ–आफ्नै कोणबाट कर्मचारीले सञ्चारमाध्यममा राउटेलाई आधुनिक समाजमा घुलमिल गराउन आधुनिक पोसाक वितरण गरेको अन्तर्वार्ता पनि दिए ।

 

तर जंगलमा फिरन्ते जीवन बिताइरहेका राउटेलाई के दिँदा उनीहरुले ग्रहण गर्छन् भन्ने नबुझ्दा कोट रक्सी खाने माध्यम बन्न पुगेको छ । उनीहरुले सरकारका तर्फबाट दिएको कोट चार दिन नपुग्दै बिक्री गरेर रक्सी खान सुरु गरेको पाइएको छ । 

रुपैयाँ देखे पाप लाग्छ भन्ने राउटे समुदायलाई आधुनिक बनाउने नाममा सरकारी तथा गैरसरकारी संस्थाहरुले उनीहरुलाई कुलततर्फ धकेल्ने माध्यम निर्माण गरिरहेका छन् । सामाजिक सञ्जालमा समेत भाइरल भएको उक्त कोटवाला तस्बिरमा धेरैले राउटेको संस्कारमाथि सरकारी निकायबाट हमला भएको टिप्पणी पनि गरेका छन् ।

 

मन्त्रालयबाट कोटलगायतका न्याना कपडा वितरण गर्न आठ लाख रुपैयाँ खर्च भएको छ । प्रदेश सरकारले वितरण गरेको कोटलगायत अन्य कपडासमेत स्थानीयलाई बिक्री गर्दै राउटेले सस्तोमा पाइने सोफी मदिरा खाएका छन् । मन्त्रालयका सचिव डा. मानबहादुर बिकेले करिब आठ लाख रुपैयाँ खर्चेर राउटे बस्तीमा कोटसहित न्यानो कपडा वितरण, स्वास्थ्य शिविरलगायतका काम गरेको जानकारी दिए । 


राहतमा पाउने जिन्सी सामान बेचेर रक्सी

यस्तै राउटेले राहतमा आउने अधिकांश जिन्सी सामग्री बिक्री गरेर मदिरा सेवन गर्ने गरेका छन् । बस्तीमा पुग्ने जोकोहीसँग पनि तस्बिर खिचाउन एक सय रुपैयाँ माग्ने र त्यही रुपैयाँले सस्तोमा पाउने सोफी किनेर खाने गरेको पाइएको छ ।

मन्त्रालयबाट कोटलगायतका न्याना कपडा वितरण गर्न आठ लाख रुपैयाँ खर्च भएको छ । प्रदेश सरकारले वितरण गरेको कोटलगायत अन्य कपडासमेत स्थानीयलाई बिक्री गर्दै राउटेले सस्तोमा पाइने सोफी मदिरा खाएका छन् ।

केही महिनाअघि नेपाल प्रहरी श्रीमती संघले न्यानो कपडा, कम्बल र खाद्यान्न दिएको थियो तर राउटेले त्यो सामग्री पनि बिक्री गरिसकेको पाइएको लेकबेसी नगरपालिका प्रमुख गगनसिंह सुनारले बताए । उनले भने, ‘पटकपटक गरी राउटे बस्तीमा धेरै राहत प्राप्त भएको छ । यति धेरै निकायबाट आउँदा पनि उनीहरुले प्रयोग नगरी मदिरा किन्न आफुखुसी मूल्य तोक्दै बिक्री गर्ने गरेका छन् ।’ 

राउटे समुदायलाई दिइएको न्यानो कपडा, खाद्यान्न र कम्बल एकदुई दिनमै बस्तीमा पाउन मुस्किल भइरहेको नगरप्रमुख सुनारले बताए । राहतको सामान दुरुपयोग नगर्न सम्झाए पनि उनीहरूले बिक्री गर्ने गरेको सुनारको भनाइ छ । उनले राउटे बस्तीमा कुनै पनि वस्तुको अभाव नरहेको जानकारी दिए ।

 

नगरपालिकाले स्थानीय बासिन्दालाई राउटे समुदायबाट सामान नकिन्न अनुरोध गर्दै आएको छ । नगरप्रमुख सुनारले भने, ‘हामीले स्थानीयलाई राउटेले बिक्री गर्न ल्याएका राहत सामग्री नकिन्न पटकपटक आग्रह गरेका छौं, अब हामी राउटेको सामान किन्ने स्थानीयलाई समेत कारबाही चलाउँछौं ।’ 

राउटेले कोटसँगै जुत्ता पनि बिक्री गरेको नगर कार्यपालिका सदस्य धनसरा सुनारले बताइन् । चामलबाहेक अन्य वस्तु बिक्री गरेर मदिरा सेवन गर्ने गरेको उनको भनाइ छ । सुनारका अनुसार एकदुई बोतल मदिरामा पनि जुत्ता बिक्री गरेका छन् । राउटेहरुले भेरीपारिको गाउँमा पुगेर कोट पाँच सयदेखि एक हजारसम्ममा बिक्री गरेको पाइएको छ ।

सरकारले दिएको सोलार प्यानलसमेत उनीहरुले तोडफोड गरेका छन् । रातिमा उज्यालो आएमा आफ्नो बुद्धि बिग्रने भन्दै सोलार तोडफोड गरेको कार्यपालिका सदस्य सुनारले बताइन् ।

 

यता सामाजिक विकास मन्त्रालयका सचिव डा. मानबहादुुर बिकेले अपवादमा केहीले बिक्री गरे पनि हल्ला चलेजस्तो सबैले बिक्री नगरेको बताए । उनले राउटेलाई आधुनिकीकरण गर्न नचाहनेहरुले सानो विषयलाई ठूलो बनाइरहेको आरोप लगाए ।

 

‘एकदुईजना रक्सीका एडिक नै छन् त्यहाँ । उनीहरुले बेचेहोलान् तर हामीले पनि खरिद गर्नेलाई कारबाही गर्ने भनेका छौं । बजारमा हल्ला फिँजाइएजस्तो सबैले सामग्री बिक्री गरेका भने होइनन्’, उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्