विपक्षीलाई किन भेटेनन् जापानी मन्त्रीले ?



काठमाडौं : दुई दिने औपचारिक भ्रमणमा बुधबार काठमाडौं आएका जापानका विदेशमन्त्री तारो कोनोले प्रमुख प्रतिपक्ष दलका नेतासँग दुईपक्षीय औपचारिक भेटघाट नगरी फर्केका छन्। परराष्ट्र मन्त्रालयले नभेट्न सुझायो वा उनले आवश्यकता महसुस गरेनन् यो विषयमा सरकार पक्ष अनविज्ञ छ। प्रतिपक्ष दल राज्य संयन्त्रमा नदेखिएको भनिरहेको अवस्थामा सदाबहार मित्र एवं दातृ मुलुकको संज्ञा पाएको जापानी राजनीतिक नेतृत्वले सत्ता पक्षसँग दुईपक्षीय औपचारिक छलफल तथा शिष्टाचार भेट गर्दा प्रमुख प्रतिपक्षलाई बिर्सनु अस्वभाविक हो।

औपचारिक भ्रमणमा सत्ता पक्षसँगको भेट जत्तिकै महत्व प्रमुख प्रतिपक्ष दलसँगको छलफल पनि हुने गर्छ। सत्ता र बाहिर रहेको पक्षसँग समानान्तर छलफलपछि मात्र भ्रमण पूर्ण हुने कूटनीतिक अभ्यास छ। चार–पाँच घण्टाको संक्षिप्त भ्रमणमा समेत प्रमुख प्रतिपक्षलाई भेट्ने र सत्तापक्षप्रति प्रमुख प्रतिपक्षको धारणा बुझ्ने काम हुन्छ।

लोकतन्त्रिक पद्धतिको अभ्यासमा सत्तापक्षले सरकार चलाउँछ भने प्रमुख प्रतिपक्षले संसद्। यस्तो मोडलमा रहेको संसदीय अभ्यासमा जापानले प्रमुख प्रतिपक्षलाई चटक्कै बिर्सनुलाई अस्वभाविक भन्दै विपक्षी दलका नेताले आगन्तुक भन्दा पनि ‘होस्ट राष्ट्र’ को नेतृत्वबाट भएका कमी कमजोरी सुधार गर्न आवश्यक रहेको टिप्पणी गरेका छन्।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल भ्रमणमा आउने पाहुनाले भन्दा पनि यस्ता विषयमा परराष्ट्र मन्त्रालयले ध्यान दिनुपर्ने टिप्पणी गरे। ‘आवश्यक समन्वय गर्न नसक्नु परराष्ट्रको अपरिपक्वता वा फराकिलो सोच नहुनु नै हो’, उनले अन्नपूर्णसँग भने, ‘सत्तामा रहनेले कुन तवरले मुलुकको पछिल्लो राजनीतिक अवस्था बारेमा ब्याख्या गरे यसमा प्रमुख प्रतिपक्षको चासो रहन्छ।’

भ्रमण हुने मुलुकको परराष्ट्र मन्त्रालयले उनीहरूलाई कुन कुन भेट को कोसँग कसरी गराउने भन्ने योजना निकै पहिले बन्छ, तर त्यसमा परराष्ट्र मन्त्रालय नै संकुचित भएको हुनसक्ने आशंका प्रवक्ता शर्माले ब्यक्त गरे।

विदेशमन्त्री कोनो बुधबार काठमाडौं ओर्लने वित्तिकै नेपाली समकक्षीसँग दुईपक्षीय वार्ता गरे। फर्कनु अघि उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेट गरे। आजकाे अन्नपूर्ण पाेष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्