मेयर प्रसाईद्वारा ज्येष्ठ नागरिक र असहायलाई कम्बल वितरण



सर्लाही : सर्लाही जिल्लाको हरिवन नगरपालिका –१ मा ज्येष्ठ नागरिक, असहाय र लक्षित वर्गका समुदाय गरि २२५ जनालाई कम्बल वितरण गरिएको छ ।

आइतबार हरिवन नगरपालिका –१ ले यस वर्षको वडाको कार्यक्रम ज्येष्ठ नागरिक सम्मान कार्यक्रमअन्तर्गत कम्बल वितरण गरेको हो ।

हरिवन वडा कार्यालयको आयोजनामा आज एक कार्यक्रमको गर्दै नगर प्रमुख गणेश प्रसाईले वडाभित्रका ज्येष्ठ नागरिक, असहाय र लक्षित वर्गका परिवारका सदस्यहरुलाई कम्बल प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख गणेश प्रसाईले ज्येष्ठ नागरिकहरुका लागि यो एउटा कम्बल प्राप्त गर्नु र दिनु नै ठूलो नभएको तर यो सँग–सँगै नगरपालिकाले गरेको सम्मान र नगरपालिकाको माया प्राप्त गर्नु नै ज्येष्ठ नागरिककका लागी ठूलो कुरा भएको बताएका छन् ।

नगरभित्रका ज्येष्ठ नागरिक, अपांग असहाय र पिछडिएका समुदायहरुको साथ सहयोग र आशीर्वाद आफूहरुमाथि रहेकाले चुनाव जितेको र अब त्यही लगाएको गुनलाई सम्झेर नै आफुले काम गरि रहेको समेत मेयर प्रसाईले बताए ।

फरक प्रसङ्गमा मेयर प्रसाईले अहिले जनताहरुले भौतिक बिकासतर्फ मात्र ध्यान दिइरहेका र सामाजिक विकास तर्फ ध्यान नदिएकाले कालो पत्रेलाई मात्र बिकास मानिरहेका र समग्र सामाजको परिवर्तनतर्फ ध्यान नपुर्‍याउनाले यस खालको मात्र विकासले भोलिका दिनमा यो समाज र राष्ट्रलाई समेत ठुलो अप्ठ्यारो पार्न सक्ने समेत कुरा तर्फ नागरिकहरुलाई सचेत हुन आग्रह गरे ।

विकास कुनै जादुको छडी जस्तो भन्ने साथै तुरुन्तै नहुने र त्यसको कानुनी प्रक्रिया, आवश्यकता र निरन्तरताको आधारमा हुने बताउदै आजको आजै नभएर क्रमिक रुपमा आवस्यकताका आधारमा हुँदै जाने समेत बताएका छन् । मेयर प्रसाईले आफुले आजको निम्ति मात्र हैन भोलिका निम्ति, भोलिका आउने पुस्ताका निम्ति र भोलिको समाजको निम्ति काम गर्ने समेत बाचा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्