पहिलोपटक अध्यागमनमा आफ्नै सफ्टवेयर : होटेलसम्मै पर्यटकको निगरानी



काठमाडौं : पुरानो प्रविधि र कर्मचारीको सेटिङका कारण बदनाम नेपालको अध्यागमनमा प्रविधिगत रूपमा ठूलो सुधार भएको छ । पहिलोपटक अध्यागमनमा आफ्नै सफ्टवेयर जडान गरिएको छ भने हरेक यात्रुको रेटिनासहितको विवरण राख्न थालिएको छ । करिब १५ करोड रुपैयाँ खर्च गरेर अध्यागमन विभागले आफ्ना कार्यालयमा नयाँ प्रविधि जडान गरेको हो । प्रधानमन्त्री केपी ओलीले सोमबार जडान गरिएका प्रविधिको उद्घाटन गर्दै छन् । 

‘अब नेपाल पोर्ट नामक आफ्नै सफ्टवेयर बनाएका छौँ,’ अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले भने, ‘यसअघि हाम्रो डाटासमेत सफ्टवेयर कम्पनीको नियन्त्रणमा हुने अवस्था थियो, अब पूर्ण रूपमा हाम्रै कर्मचारीले यसलाई चलाउने छौँ ।’ विभागले यसका लागि केही इन्जिनियर भर्ना गरिसकेको छ । ६ महिनाअघिसम्म अध्यागमनका सबै डाटा निजी कम्पनीको कब्जामा थियो ।

नयाँ सफ्टवेयरबाट होटेलसम्मै पर्यटकको निगरानी गर्न सकिन्छ । सो सफ्टवेयरमा होटेलले पर्यटकको विवरण अनिवार्य रूपमा भर्नुपर्ने नियम लागू गर्न लागिएको छ । हाल भिसाको अवधि सकिएका र अवैध रूपमा बस्दै आएका पर्यटकको कुनै जानकारी विभागलाई हुने गरेको छैन । धेरै देशका अध्यागमन प्रयोग भइसकेको आइरिस स्क्यानर पनि जडान गरिएको छ । अब हरेक यात्रुका फोटो औँठाछाप तथा आँखाको नानीको विवरण अध्यागमनसँग हुनेछ । जसअनुसार एउटाले अर्काे व्यक्तिको पासपोर्ट प्रयोग गर्न पाउँनेछैनन् । 

तर, नेपाली यात्रुको विवरण राहदानी विभाग, वैदेशिक रोजगार विभाग, कन्सुलर सेवा विभाग, इन्टरपोल र प्रहरीसँग समेत हुनेछ । यसले अपराध नियन्त्रणमा पनि सहयोग पुग्ने विभागका अधिकारी बताउँछन् । अध्याधुनिक कम्प्युटर, सिसिक्यामेरा तथा उच्च गतिको इन्टरनेट जडान भएकाले अब मिलिसेकेन्ड पनि अध्यागमनको सर्भर ‘डाउन’ नहुने पौडेलको भनाइ छ ।  

 कागजपत्र नक्कली भए तत्कालै पत्ता लाग्ने
शंका लागेका कागजपत्र चेक गर्ने एफडियू ल्याबसमेत स्थापना गरिएको छ । यसबाट नक्कली पासपोर्ट, भिसा तथा कागजपत्र नक्कली भए तत्कालै पत्ता लाग्ने छ । कुनै शंकास्पद यात्रुमाथि सोधपुछ गर्नका लागि ‘आइसोलेसन रुम’ निर्माण गरिएको छ । यसअघि डेस्कमा नै सोधपुछ हुने गरेको थियो । सफ्टवेयरसँगै अध्यागमन कार्यालयको हार्डवेयर पनि फेरिएको छ । आकर्षक डेस्क स्थापना गरिएको छ । भ्रमण वर्षका लागि यात्रुलाई लाइनमा बसाउन तथा सहयोग गर्न पूर्वसुरक्षाकर्मी तथा होटेल म्यानेजमेन्ट पढेका विद्यार्थीलाई समेत करारमा भर्ना गरेर खटाइएको छ ।  नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्