राजर्षिजनक विश्वविद्यालयमा तालाबन्दी



जनकपुरधाम : जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयमा बिभिन्न आठ बुँदे माग राखी राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघले तालाबन्दी गरेको छ ।

विश्वविद्यालयलाई पार्टीकरण गर्दै काँग्रेसी तथा नेकपाको रजाई गर्ने थलो बनाएको भन्दै बिरोधस्वरुप तालाबन्दी गरिएको हो ।

विश्वविद्यालय जस्तो गरिमामय ठाउँलाई सटरमै सञ्चालन गरि विश्वविद्यालयको साख र गरिमा धुमिल पार्न खोजिएको बिरोधमा तालाबन्दी गरिएको प्रा।डा।विनोद साहले बताए ।

उनले भने,‘ विश्व विद्यालयका पदाधिकारीहरुले श्रोत साधनको दुरुपयोग गरेर चरम भ्रष्टाचार गरिरहेका छन् । हामीले विश्वविद्यालयको भौतिक संरचना आवश्यक पुर्वाधार सहित शैक्षिक तथा प्राज्ञिक गतिविधिमा सुधार,विश्वविद्यालयको पदाधिकारी,कर्मचारी तथा प्राध्यापकको भर्ना प्रक्रिया पारदर्शी हुनुपर्ने माग राखेका छौं ।’

तराई मधेशको समग्र बिकास अनुरुप दक्ष जनशक्ति उत्पादनका लागि आवश्यक शैक्षिक तर्जुमा गरी पाठ्यक्रम तथा कार्यक्रम लागू गर्नुपर्ने र उच्च शिक्षा अध्ययन अनुसन्धानका लागि विश्वविद्यालयको गुरुयोजना तयार गर्नुपर्ने लगायतका माग उनीहरुको छ ।

संघका केन्द्रिय उपाध्यक्ष डा।बिनोद साहले भने,‘विश्वविद्यालय जस्तो गरिमामय ठाउँलाई काँग्रेसीकरण गरियो, कर्मचारी भर्नादेखि प्राध्यापक नियुक्तिसम्ममा योग्यता, क्षमतालाई अवमुल्यन गरी भर्ति केन्द्र बनाईयो, हामीलाई हाम्रो अस्तित्व जोगाउन हम्मे–हम्मे भएपछि तालाबन्दी गर्न बाध्य भयौं ।’

पुस २७ गते बिभिन्न माग सहित उपकुलपति भरत झालाई ध्यानाकर्षण सहित अल्टिमेटम पत्र बुझाएपनि सुनुवाई नगरिएपछि रजिष्टार, डिन सहितको कार्यालयमा तालाबन्दी गरिएको हो ।

तालाबन्दी पश्चात् विश्वविद्यालयका प्रशासनिक कामकाज अवरुद्ध भएको छ भने तालाबन्दी पश्चात बिश्वविद्यालयका पठन–पाठन समेत ठप्प भएको छ । हाल विश्वविद्यालय रामानन्द चोकस्थित एउटा सटरमा सञ्चालन गरिदैं आएको छ ।

प्रतिक्रिया दिनुहोस्