नेकपा केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरुलाई बोल्न प्रतिवन्ध !



काठमाडौं : तत्कालिन नेकपा एमाले र तत्कालिन माओवादी केन्दबीचको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को केन्द्रीय समितिको बैठक २१ महिनापछि आज (बुधबार)देखि शुरु हुँदैछ ।

काठमाडौंको राष्ट्रिय सभागृहमा शुरु हुने केन्द्रीय समितिको दोस्रो बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्दै सम्बोधन गर्नेछन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने भएका छन् । त्यस्तै महासचिव विष्णु पौडेलले सांगठनिक प्रतिवेदन र विधान संशोधनको प्रस्ताव पेश गर्नेछन् ।

लामो समयपछि हुन लागेको केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरुले सिधा आफ्नो धारणा राख्न नपाउने भएका छन् । जम्बो केन्द्रीय समितिका कारण सदस्यहरु केन्द्रीय समितिको बैठकमा धारणा राख्न प्रतिबन्धित हुन पुगेका छन् । एकातिर केन्द्रीय सदस्यहरुले सरकार र पार्टी नेतृत्वको उछितो काढ्ने गरी प्रस्तुत हुन सक्ने संभावना र अकौतिर सबै केन्द्रीय सदस्यहरुलाई बैठकमा बोल्न दिदा समयअभावलाई देखाउदै नेतृत्वले ३०–३० जनाको १५ वटा समूहमा विभाजन गर्ने योजना बनाएको छ ।

१५ वटा समूहमा दुई दिनसम्म छलफल गरेर टोली नेताले बैठकमा समूहको धारणा प्रस्तुत गर्ने भएका छन् । यसउले गर्दा केन्द्रीय सदस्यहरुको आक्रोश त्यही समूहमै पोखिनेछ । टोली नेताले सबै टोलीका सबै सदस्यको भावना र सुझावलाई लिपिबद्ध गरी बैठकमा प्रस्तुत गर्नेछन् । टोली नेतालाई पनि समूहको धारणा प्रस्तुत गर्न निश्चित समय छुट्याइएको छ ।

केन्द्रीय सदस्यहरु सबैले सबैलाई नचिन्ने भएका कारण केन्द्रीय कार्यालउ उनीहरुलाई कार्डको व्यवस्था गरेको छ । कार्ड नभएका केन्द्रीय सदस्यहरु बैठकस्थलमा प्रवेश गर्न नपाउने ब्यवस्था पनि केन्द्रीय कार्यालयले गरेको छ ।

कार्ड हराएमा पार्टी महासचिवको निर्देशनमा बैठक स्थालमा प्रवेश गर्ने प्रबन्ध मिलाएको छ । सहभागी केन्द्रीय सदस्यहरुलाई खाना र आवासको व्यवस्था नगरेपनि बिएल शर्माको क्याटरिङबाट प्याकेटमा खाजाको ब्यवस्था भने मिलाईएको छ ।

यसैबीच प्रधानमन्त्री निवास बालुवाटारमा हिजो मंगलबार बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको उद्घाटन मन्तव्यपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै गरेर केन्द्रीय समितिको बैठकमा महासचिव पौडेलले साङ्गठनिक प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने र सातै प्रदेशका अध्यक्षहरूले आ–आफ्नो प्रदेश कमिटिको साङ्गठनिक प्रतिवेदन पेश गर्ने कार्यक्रम तय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।

यसैगरी सममायिक प्रस्ताव र विविध विषयसमेत बैठकमा प्रस्तुत हुने बताइएको छ । प्रवक्ता श्रेष्ठका अनुसार समसामयिक प्रस्ताव अहिलेको राजनीतिक गतिविधिमा केन्द्रीत हुने छ ।

विसं २०७७ चैतको मसान्तसम्म पार्टीको एकता महाधिवेशन गर्ने स्थायी कमिटीले पेश गरेको प्रस्ताव केन्द्रीय कमिटीमा रहने उनले जानकारी दिए । पार्टी एकता भएको डेढ वर्षपछि बैठक पहिलो पटक कार्यसूचीसहित बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्