ढुक्क भएर लगानी गर्नुस्, सुरक्षाको जिम्मा सरकारले लिन्छ : मन्त्री महासेठ



काठमाडौँ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात क्षेत्रमा हुने वैदेशिक लगानीको सम्पूर्ण सुरक्षा सरकारले लिने बताएका छन् ।

नेपाल अटोमोबाइल एशोसिएसन (नासा) तथा विश्व अटोमाइल संगठन (एफआइए)द्वारा आज आयोजित दुईदिने ‘विश्व अटोमोबाइल सम्मेलन शुभारम्भका क्रममा उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।

मन्त्री महासेठले नेपालको विकासमा अन्तर्राष्ट्रिय लगानी आवश्यक भएकाले एफआर्इएलाई लगानी गर्न आग्रह गरे । वर्तमान सरकारको ध्यान नै सडक विकास तथा विस्तारमा रहेकाले यस क्षेत्रलाई व्यवस्थित गर्दै लगिनेमा पनि उनले जोड दिए ।

 

छिमेकी देश चीन र भारतको सहयोगमा नेपालमा हवाई, जल तथा सडक यातायातको विकास हुँदै आएको र अब छिट्टै रेलमार्ग पनि सञ्चालनमा आउँछ भन्दै मन्त्री महासेठले नेपालमा करिब तीन लाख २० हजारभन्दा बढी यातायातका साधन सञ्चालनमा रहेको जानकारी दिए ।

 

एसिया प्रशान्तका अध्यक्ष मिके नुनले विश्वको आर्थिक विकासको मेरुदण्ड यातायात नै भएकाले एफआर्इएले सडक यातायातका साथै पर्यटन र खेलकूद विकासलाई प्राथमिकता दिँदै आएको बताए ।

नेपालका २० र २५ देशका ४० गरी ६० जनाको सहभागिता रहेको उक्त सम्मेलनमा अटोमोबाइलसँग सम्बन्धित संघसंस्थाले आ–आफ्ना धारणा प्रस्तुत गर्ने भएका छन् । नेपालका सवारी चालकका चालक अनुमतिपत्रलाई विश्वव्यापी मान्यता दिन उक्त सम्मेलनमा पहल गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्