डडेल्धुरा र डोटीमा स्वास्थ्य बीमा विस्तार हुँदै



काठमाडौं : सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुरा र डोटीमा ४ वर्षपछि स्वास्थ्य बीमा कार्यक्रम लागू हुने भएको छ ।

सुदूरपश्चिमका ९ वटै जिल्लाका नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुच पुर्याउने उद्देश्यले शुरु भएको स्वास्थ्य बीमा कार्यक्रम यी दुई जिल्लामा ४ वर्षपछि लागू हुने भएको छ ।

आउँदो फागुन १ गतेबाट त्यहाँका २ वटा जिल्लामा एकै साथ उक्त कार्यक्रम लागू हुने भएको हो । स्वास्थ्य बीमामा आबद्ध हुनका लागि प्रति ५ परिवारले वार्षिक ३ हजार ५०० तिर्नुपर्ने र पछि उनीहरु बिरामी भए १ लाख बराबरको निःशुल्क औषधि पाउने व्यवस्था मिलाइएको छ ।

हालसम्म ७ जिल्लामा मात्रै उक्त कार्यक्रम लागू भएको थियो । सरकारले देशभरीका ४८८ स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम विस्तार गरेपनि सुदूरपश्चिमका डडेल्धुरा र डोटीमा भने अहिलेसम्म लागू भएको थिएन ।

नेपाल सरकारले विसं २०७२ चैत २५ गतेबाट पहिलो पटक सुदूरपश्चिमको कैलाली जिल्लाबाट योे कार्यक्रमको शुभारम्भ गरेको थियो । सबै नागरिकलाई स्वास्थ्य बीमामा समावेश गराउने उद्देश्य अनुरुप डडेल्धुरा र डोटीमा पनि उक्त कार्यक्रम लागू गरिन लागेको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरका डा.भुषण मिश्रले बताए ।

उनले भने,“सुदूरपश्चिममा सम्पूर्ण नागरिकलाई स्वास्थ्य सेवा दिने उद्देश्यले स्वास्थ्य बीमामा समावेश गराउँदैछौँ, डडेल्धुरा र डोटीमा पनि कार्यक्रम लागू भए यो प्रदेशको नौवटै जिल्लामा उक्त कार्यक्रम सञ्चालन हुनेछ ।” डडेल्धुरा र डोटीमा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्नका लागि सुदूरपश्चिम प्रदेश सरकार तथा क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायलले सम्पूर्ण तयारी पूरा गरिसकेको डा.मिश्रले जानकारी दिए । त्यहाँका स्वास्थ्य स्वयंसेविकाको भने निःशुल्क स्वास्थ्य बीमा गरिने भएको छ ।

राष्ट्रिय बीमा बोर्डले महिला स्वास्थ्य स्वयंसेविकालाई ५० प्रतिशत छुटमा समावेश गर्ने नीति लिएको छ भने थप ५० प्रतिशत रकम सुदूरपश्चिम प्रदेश सरकारले व्यवस्थापन गर्ने स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरका निर्देशक डा.गुणराज अवस्थीले बताए ।

सुदूरपश्चिम प्रदेशका ७ जिल्लामा लागू भएको उक्त कार्यक्रममा हालसम्म कूल जनसंख्याको १२ प्रतिशत मात्रै आबद्ध भएको स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाएको छ । बीमा बोर्ड सुदूरपश्चिम प्रदेश कार्यालयका अनुसार विसं २०६८ को जनगणना अनुसार प्रदेशको कूल जनसंख्या २५ लाख ५२ हजार ५१७ रहेकोमा हालसम्म यो कार्यक्रममा २ लाख ४६ हजार २०३ जना आबद्ध भएका छन् ।

त्यसैगरी प्रदेश सरकारले कैलाली, अछाम, बझाङ र बाजुरा जिल्लामा गरिब घरधुरी पहिचान गरी परिचयपत्र वितरण गरिसकेको छ । प्रदेशका अन्य पाँच जिल्लामा भने पहिचान हुन बाँकी रहेको जनाएको छ । बीमा बोर्डका अनुसार ७ जिल्लामध्ये कैलालीमा सबैभन्दा बढी १ लाख ३५ हजार ८३१ र सबैभन्दा कम दार्जुलामा ५ हजार ६८५ बीमित रहेका छन् ।

बझाङमा ३० हजार ११२, बाजुरामा २६ हजार ५७४, अछाममा २५ हजार ८०६, बैतडीमा ११ हजार ९९० र कञ्चनपुरमा १० हजार १९५ जना बीमित रहेका छन् । सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म ३९ हजार ३०१ जनाले स्वास्थ्य बीमा कार्यक्रमबाट स्वास्थ्य सेवा लिइसकेको निर्देशनालयले जनाएको छ ।

यो कार्यक्रम अन्तर्गत प्रदेशका ७ जिल्ला गरी ३ करोड ८१ लाख ५ हजार २६२ लगानी भइसकेको जनाएको छ । स्वास्थ्य बीमा गराउनेहरुलाई सरकारले १ हजार १ सय ३८ प्रकारका औषधिहरु नि : शुल्क उपलब्ध गराउनुपर्ने व्यवस्था छ । रासस

प्रतिक्रिया दिनुहोस्