विस्फोटक पदार्थको उत्पादन क्षमता तेब्बर बनाउँदै सेना



काठमाडौं: नेपाली सेनाले विकास निर्माणका काममा प्रयोग गर्न उत्पादित विस्फोटक पदार्थ (इमल्सन प्लान्ट)को उत्पादन क्षमता तेब्बर बनाउने भएको छ । सेनाले विस्फोटक पदार्थको माग बढेपछि उत्पादन क्षमता तेब्बर बनाउने तयारी अघि बढाइसकेको छ । हाल सेनाले मकवानपुरको सुनाचुरीमा रहेको इमल्सन प्लान्टमार्फत विस्फोटक पदार्थ उत्पादन गर्दै आएको छ ।

विकास निर्माणका काममा सेना आफैं संलग्न हुन थालेपछि र विभिन्न कन्सट्रक्सन कम्पनीमार्फत माग बढ्न थालेपछि सेनाले वार्षिक १२ सय मेट्रिक टन उत्पादन क्षमता रहेको विस्फोटक पदार्थलाई ३ हजार ६ सय मेट्रिक टन पुर्याउन लागेको हो । यो हालको उत्पादन क्षतमताको तेब्बर हो ।

सेनाका प्रवक्ता सहायक रथी यामप्रसाद ढकालले माग बढेपछि उत्पादन क्षमता वार्षिक १२ सय मेट्रिक टनबाट ३ हजार ६ सय मेट्रिक टन पु¥याउन प्रक्रिया थालिएको बताए । ‘हालको उत्पादन क्षमता वार्षिक १२ सय मेट्रिक टन हो, माग त धेरै नै छ । तर, मागअनुसार उत्पादन गर्न नसकिए पनि दुई महिनाभित्रै ३ हजार ६ सय मेट्रिक टन विस्फोटक पदार्थ उत्पादन सुरु हुन्छ,’ प्रवक्ता ढकालले राजधानीसँग भने । उनले त्यसका लागि आवश्यक उपकरण आइसकेको र इन्सटलेसनको काम भइरहेको जानकारी दिए । फागुन अन्तिमसम्म परीक्षण उत्पादन सुरु हुने उनले बताए ।

‘नयाँ प्लान्टका केही उपकरणको इन्सटलेसन भइरहेको छ । दुई महिनाभित्रै परीक्षण उत्पादन सुरु हुनेछ,’ उनले थपे । हाल वार्षिक ३ हजारदेखि ५ हजार टनसम्म इमल्सनको माग रहेको सेनाले बताएको छ । हाल सेनाले उत्पादन गर्दै आएको विस्फोटक पदार्थ (इमल्सन प्लान्ट) हाइड्रोपावरको टनेल र सडकको टनेल निर्माणसहित पहाडी क्षेत्रका सडकको ट्र्याक खोल्न प्रयोग हुँदै आएको छ । सेनाले यही विस्फोटक पदार्थमार्फत ढुंगा फोर्ने काम गरिरहेको छ ।

हाल अरुण तेस्रो जलविद्युत् आयोजनासहितका विभिन्न आयोजनामा सेनाले विस्फोटक पदार्थ पठाउँदै आएको छ । यस्तै, कर्णाली कोरिडोर, मेलम्ची, काठमाडौं–तराई मधेस द्रुत मार्गमा समेत इमल्सन प्लान्ट प्रयोग हुँदै आएको छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा समेत सेनाले नै उत्पादन गरेको विस्फोटक पदार्थ प्रयोग गरिएको थियो ।

निजी क्षेत्रले विस्फोटक पदार्थ खरिद गर्दा विभिन्न प्रक्रिया पूरा गरेपछि मात्रै सेनाले दिने गरेको छ । त्यसरी दिँदा सम्बन्धित जिल्लामा बनेको कमिटीबाट स्वीकृति लिएर गृह मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेनाको जंगी अड्डा हुँदै प्लान्टसम्ममा स्वीकृति पाएपछि मात्रै ती पदार्थ पठाइने सेनाले जनाएको राजधानीमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्