कर्मचारी समायोजन फारम भर्ने म्याद आज सकिँदै



काठमाडौं : संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुने कर्मचारीलाई फारम भर्न दिइएको २१ दिनको म्याद आज सकिँदैछ । आज मध्यान्ह १२ बजेसम्म करिब ६६ हजार कर्मचारीको फारम सफ्वेयरमा दर्ता भइसकेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समायोजन महाशाखा प्रमुख सहसचिव केदार पनेरुका अनुसार  ७६ हजार भन्दा बढि कर्मचारीले अनलाइन फाराम भरिसकेका छन् । 

बुधबार राति १२ बजेसम्म कर्मचारीले अनलाइनमा फारम अपलोड गर्न सक्नेछन् । झण्डै ८९ हजार कमचारीमध्ये अहिलेसम्म करिब ९० प्रतिशतले समायोजनमा सहभागिता जनाएको पनेरुले बताए । 

अध्यादेशले वृत्तिविकास रोकेको भन्दै सुरुमा कर्मचारी आन्दोलित भए पनि उनीहरूका माग संघीय निजामती कर्मचारी ऐनमा समेटिने सरकारको घोषणापछि प्रक्रिया सहज बनेको थियो । समायोजन सूचना जारी गर्नुअघि मन्त्रालयले सबै कर्मचारीलाई किताबखानामा विवरण अपडेट गराउन भनेको थियो । 

मन्त्रालयले संघमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ जना कर्मचारीको दरबन्दी कायम गरेको छ । 

प्रतिक्रिया दिनुहोस्