किन गरेन मन्त्रीपरिषदले आईजीपीको निर्णय ?



काठमाडौं : नेपाल सरकारको आज सोमबार बसेको मन्त्रीपरिषद बैठकले नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आइजीपी) नियुक्तिमा कुनै निर्णय गरेको छैन । आज बसेको मन्त्रीपरिषदले २८ गतेदेखि रिक्त हुने नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा नयाँ ब्यक्तिलाई ल्याउने चर्चा चलेको थियो तर आज बसेको मन्त्रीपरिषदले त्यसबारे कुनै निर्याय गरेन ।

हालका आइजीपी सर्वेन्द्र खनालको उत्तराधिकारीका रुपमा डिआईजी ठाकुर ज्ञवालीलाई ल्याउने चर्चा चलेको थियो । तर आज बसेको बैठकले यससम्बन्धि कुनै निर्णय नगर्दा किन भएन भन्ने हिसाबले चर्चा चल्ने गरेको छ । तथापी भोली मंगलबार बस्ने बैठकले यससम्बन्धि निर्णय गर्न सक्ने श्रोतको दाबी छ । अहिले डिआइजी ज्ञवालीका साथै अर्का डिआईजी तारणी लम्साल पनि आईजीपीको प्रतिस्पर्धामा रहेका छन् ।

३० वर्षे सेवाअवधिका कारण प्रहरी महानिरीक्षक खनालसहित २२ उच्च अधिकारीहरुले अनिवार्य अवकाश पाएपछि डिआइजी ज्ञवाली आईजीपी बन्ने बाटो खुलेको हो । २०४७ असार २५ गते प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेको ज्ञवालीलाई सरकारले नेपाल प्रहरीको नेतृत्व सुम्पेपछि उनले करिब ५ महिना नेपाल प्रहरीको सर्बोच्च पद आईजीपीका रुपमा नेतृत्व सम्हाल्नेछन् । उनले सेवाअवधिका कारण आउदो असारको अन्तिम साता अनिवार्य अवकाश पाउनेछन् ।

यसरी सेवाबाट अवकाश पाउनेमा एआइजीपी खनालसँगै एआईजीत्रय पुष्कर कार्की, ठूले राई र धिरु बस्नेत रहेका छन् ।

यस्तै एकै दिन अवकाश पाउने डीआइजीहरुमा मनोज न्यौपाने, सुरेशविक्रम शाह, पिताम्बर अधिकारी, केदार रिजाल, नारायणसिंह खड्का, कमलबहादुर जीटी, शेरबहादुर बस्नेत, दिनेश अमात्य, रामप्रसाद श्रेष्ठ, दीपककुमार थापा छन् । यसैगरी विनोद शर्मा घिमिरे, पूर्णचन्द्र जोशी, दानसिंह बोहरा, हरिभक्त प्रजापति, विकास श्रेष्ठ, महेशविक्रम शाह, सुरज केसी, महेन्द्रकुमार पोखरेल रहेका छन् । यस मध्ये डीआइजी महेशविक्रम शाह वन सेवामा जागिर खाएकाले त्यो अवधि समेत जोडिएर पुसको पहिलो हप्ता नै अवकाश पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्