नयाँ आईजीपीमा ठाकुर ज्ञवाली, यस्ता छन् चुनौतीहरु



काठमाडौं : नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा डीआईजी ठाकुर ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको छ । आज (मंगलबार) बसेको मन्त्रीपरिषद बैठकले डीआईजी ज्ञवालीलाई आईजीपी बनाउने निर्णय गरेको हो । हिजो (सोमबार) बसेको मन्त्रीपरिषदले निर्णय गर्ने भनिएपछि त्यस विषयमा हिजो निर्णय भएको थिएन ।

हालका आईजीपी सर्वेन्द्र खनालसँगै २२ जनाले आजैको दिनदेखि अवकाश पाउँदैछन् । सरकारले २७ औँ महानिरीक्षकका लागि डीआईजी ज्ञवालीको नाम सिफारिस गरेको हो । महानिरीक्षक नियुक्ति सम्बन्धि प्रस्ताव ल्याउनका लागि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’बीच सहमति भएपछि गृहसचिव महेश्वर न्यौपानेले फाइल उठाएको थियो । उक्त प्रस्ताव मन्त्रीपरिषदको बैठकमा पेश गरिएको थियो ।

नयाँ आईजीपीका लागि ज्ञवाली र तारिणी लम्साल प्रतिस्पर्धामा रहेका थिए । यही माघ २९ गतेदेखि आईजीपी खनालसँगै तीन एआईजी र १८ डीआईजीले एकैपटक सेवा अवधिका कारण अनिवार्य अवकाश पाउनेछन् । आईजीपीमा नियुक्त डीआईजी ज्ञवाली प्रदेश नम्बर एकको प्रहरी प्रमुखका रुपमा कार्यरत रहेका थिए ।

३० वर्षे सेवा अवधिका कारण प्रहरी महानिरीक्षक खनालसहित २२ उच्च अधिकारीहरुले अनिवार्य अवकाश पाएपछि डीआईजी ज्ञवाली आईजीपी बन्ने बाटो खुलेको हो । २०४७ असार २५ गते प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेको ज्ञवालीलाई सरकारले नेपाल प्रहरीको नेतृत्व सुम्पेपछि उनले करिब ५ महिना नेपाल प्रहरीको सर्वोच्च पद आईजीपीका रुपमा नेतृत्व सम्हाल्नेछन् । उनले सेवाअवधिका कारण आउँदो असारको अन्तिम साता अनिवार्य अवकाश पाउनेछन् ।

यसरी सेवाबाट अवकाश पाउनेमा एआईजीपी खनालसँगै एआईजीत्रय पुष्कर कार्की, ठूले राई र धिरु बस्नेत रहेका छन् ।

यस्तै एकै दिन अवकाश पाउने डीआईजीहरुमा मनोज न्यौपाने, सुरेशविक्रम शाह, पिताम्बर अधिकारी, केदार रिजाल, नारायणसिंह खड्का, कमलबहादुर जिटी, शेरबहादुर बस्नेत, दिनेश अमात्य, रामप्रसाद श्रेष्ठ, दीपककुमार थापा छन् । यसैगरी विनोद शर्मा घिमिरे, पूर्णचन्द्र जोशी, दानसिंह बोहरा, हरिभक्त प्रजापति, विकास श्रेष्ठ, महेशविक्रम शाह, सुरज केसी, महेन्द्रकुमार पोखरेल रहेका छन् । यसमध्ये डीआईजी महेशविक्रम शाह वन सेवामा जागिर खाएकाले त्यो अवधि समेत जोडिएर पुसको पहिलो हप्ता नै अवकाश पाएका छन् ।

ज्ञवाली आईजीपीमा नियुक्त भएपनि विभिन्न अड्कलबाजी गर्न थालिएको छ । नेपाली प्रहरीमा रिक्त हरेको विभिन्न पदमा अहिलेसम्म बढुवा हुन सकेको छैन । नयाँ आईजीपी आएपछि यो कार्यलाई तत्काल अगाडी बढाउनुपर्ने चुनौती ज्ञवालीमाथि देखिएको छ ।

यी पाँच महिने कार्यकालमा प्रहरी संगठनभित्र रहेको विभिन्न चुनौतिहरुलाई चिर्दै अगाडी बढ्नुपर्ने बाध्यता र दवाव ज्ञवालीमाथि पर्ने देखिन्छ । त्यसमा पनि आफ्नो संगठनभित्र देखिएका असन्तुष्टिलाई कसरी चिर्लान त्यो हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्