हेलिकप्टरबाट सुत्केरीको उद्धार



हुम्ला : जिल्लाको दक्षिणी क्षेत्रमा रहेको ताजाकोट गाउँपालिका-३ चौतारीबाँडा गाउँमा सुत्केरी व्यथा लागेर साल अड्किएको एक महिलालाई आज दिउँसो हेलिकप्टरबाट उद्धार गरिएको छ ।

वडा ३ का ३९ वर्षीया रुपशिला दमाईंको साल अड्किएर निस्कन नसक्दा चौबिस घण्टापछि हेलिकप्टरबाट उद्धार गरिएको हो । नेपाली सेनाको हेलिकप्टरमार्फत सुत्केरी व्यथा लागेका उनलाई प्रदेश अस्पताल सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले बताईन् ।
जिल्ला प्रशासन कार्यालय हुम्लाको पहलमा सुत्केरी व्यथा लागेर साल अड्किएको जानकारी आएपछि उद्धारको लागि पहल गरी उद्धार गरिएको भट्टराईको भनाई छ ।

उनलाई प्रमुख जिल्ला अधिकारी भट्टराई र ताजाकोट गाउँपालिका अध्यक्ष बाग्दल मल्लको पहलमा प्रदेश अस्पतालमा लगिएको हो । उच्च रक्तश्रावले अचेत अवस्थामा रहेकी दमाईंलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट पठाएको हेलिकप्टरमार्फत सुर्खेत लगिएको हो ।

यस्तै केही दिन अगाडि मात्रै उत्तरी नाम्खा गाउँपालिका वडा लिमी गाउँका सुत्केरी व्यथा लागेकी ३५ वर्षीया याङजिन तामाङको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । पछिल्लो समयमा कर्णालीका विकट जिल्लाबाट सुत्केरी हुन नसकेका महिलालाई हवाई उद्धार गरेर धेरैको ज्यान जोगिएको प्रमुख जिल्ला अधिकारी भट्टराईको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्