किन मनाइन्छ ̔ भ्यालेनटाइन डे ̓ ?



विश्वभर फेब्रुअरी १४ तारिखका दिन भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइँदैछ । नेपालमा पनि केही वर्षयता प्रेम दिवसलाई युवा युवतीले विशेष चाडकै रूपमा मनाउन थालेका छन् । यो दिवसले सहरी समाजमा त नयाँ संस्कृतिकै रूप लिएको छ ।

हाम्रो देश नेपाल कला संस्कृतिको देशको रुपमा पनि चिनिन्छ । किनकि यहाँका सबै मानिसहरु जुनसुकै रितिरिवाज पनि एकआपसमा मिलेर खुसी खसीका साथ मनाउने गर्छन् । जस्तै : दशैं, तिहार, तिज, लोसार, क्रिसमस आदी । नेपालमा जति पनि प्रकारका चाडपर्वहरु मनाइन्छ ती सबै चाडपर्वका पछाडी कुनै न कुनै काहानी छन् । जुन इतिहासको पानामा लेखिएको हुन्छ ।

यस्तैमा एक यस्तो दिन पनि छ जुन ̔भ्यालेनटाइन डे ̓ को दिन भनेर चिनिन्छ । उक्त दिनलाई हामी माया प्रेम गर्नेहरुको दिन भन्छौँ । र हरेक वर्ष फेब्रुअरी महिनालाई प्रेमको महिना पनि भनिन्छ । तर के तपाईले सोच्नुभएको छ ? १४ फेब्रुअरीलाई हामी भ्यालेनटाइनको रुपमा किन मनाउँछौँ । यस दिनको पछाडी पनि एक काहानी छ । जसको बारेमा सायदै तपाईहरुलाई जानकारी होला ।

जानौँ किन मनाइन्छ भ्यालेनटनइन डे ?
खासमा भ्यालेनटाइन एक व्यक्तिको नाम थियो । जसको नाम ̔सेन्ट भ्यालेनटाइन ̓ थियो । यस प्रेमको दिनको काहानीको सुरुवात भने प्रेममय छैन् । यो काहानी एक दुष्ट राजा र कृपालु सन्त भ्यालेनटाइनको मुढभेढको बीचको हो । यस दिनको सुरुवात हुन्छ रोमको तेस्रो शताब्दिबाट । जहाँ एक अत्याचारी राजा थिए । जसको नाम ̔क्लोडिएस ̓ थियो । रोमका राजा यो मान्थे की एक एक्लो सिपाई एक बिबाहित सिपाही भन्दा युद्धका लागि प्रभावशाली सिपाही बन्न सक्छ । किनकि बिवाहित सिपाहीलाई हरेक समय एउटै कुराको चिन्ता हुन्छ कि आफू मरेपछि आफ्नो परिवारको हालत के हुन्छ । यहि चिन्ताले गर्दा उक्त सिपाही युद्धमा पुरा ध्यान दिन सक्दैन् । यहि सोँचेर क्लोडिएस राजाले आदेश दिए उनको राज्यमा कोही पनि सिपाहीले बिहे गर्दैन् । कुनै दिन कसैले उनको आदेशको उल्लङ्घन ग-यो भने उसलाई कडा सजाय दिइन्छ ।

राजाको यस फैसलाबाट सबै सिपाही दुखी थिए । र उनीहरुलाई यो थाहा थियो कि यो फैसला गलत छ । तर राजाको डरले कसैले पनि यसको उल्लङ्घन गर्ने हिम्मत गरेनन् । तर भ्यालेनटाइनलाई यो अन्याय बिल्कुलै मन्जुर थिएन् । यसकारण उनले राजासँग लुकेर युवा सिपाहीहरुको मदत गर्ने फैसला गरे र उनीहरुको बिवाह गराइदिन लागे । जो सिपाही आफ्नो प्रेमिकासँग बिहे गर्न चाहान्थे उनीहरु भ्यालेनटाइन कहाँ पुग्थे । र भ्यालेटाइनले उनीहरुको बिहे गराइदिएर मदत गर्थे । उनले धेरै सिपाहीहरुको गुपचुप रुपमा बिहे गराइदिए । तर केही समयपछि भ्यालेनटाइनको यस कार्य बारेमा क्लोडिएस राजालाई थाहा भयो र आफूले दिएको आदेश पालना नगरेको भनी राजाले भ्यालेनटाइनलाई मृत्युदण्ड दिने निर्णय गरे ।

यसपछि सन्त भ्यालेनटाइन जेलभित्र थिए र आफ्नो मृत्युको मितिको दिन कुरिरहेका थिए । एक दिन उनी भएको ठाउँमा एक जेलर आए जसको नाम अस्टेरियस थियो । मानिसहरु भन्ने गर्थे की भ्यालेनटाइनसँग यस्तो दिव्य शक्ति छ जसको प्रयोग गरी उनले मानिसहरुलाई रोगबाट छुटकारा दिलाउँछन् । उक्त जेलरको एक दृष्टिबिहीन छोरी थिइन् । जेलरले भ्यालेनटाइनसँग आफ्नो दिव्य शक्तिद्वारा आफ्नी छोरीको आँखाको रोशनी ल्याइदिन अर्थात उनलाई संसार देख्ने बनाइदिन अनुरोध गरे । भ्यालेनटाइन दयावान व्यक्ति भएका हुनाले जेलरको मदत गर्न तयार भए र आफ्नो शक्ति प्रयोग गरेर जेलरको छोरीको आँखालाई ठिक गरिदिए । यस सिलसिलामा भ्यालेनटाइन र जेलरको छोरी राम्रो साथी बनिसकेका थिए । र साथीको नाता कतिबेला प्रेममा बदलियो त्यो उनीहरुलाई थाहा नै भएन् । जेलरको छोरीलाई थाहा भइसकेको थियो की भ्यालेनटाइन धेरै दिनका पाहुना होइनन् र उनलाई छिटै फाँसि दिइँदैछ । यो सोच्दा-सोच्दै उनी गहिरो चिन्ताबाट पिडीत भइन् ।

आखिर त्यो दिन आयो (१४-फेब्रुअरी) जुन दिन भ्यालेनटाइनलाई फाँसि दिइँदै थियो । आफू मर्नुभन्दा पहिले भ्यालेनटाइनले जेलरसँग एक कलम र कापी मागे र त्यो कागजमा आफ्नी प्रेमीकालाई अन्तिम सन्देश लेखे र पेजको लास्टमा उनले लेखे ̔तिम्रो भ्यालेनटाइन ̓ । यो शब्दलाई आज पनि दुनियाँ याद गर्छ ।

भ्यालेनटाइनको यस बलिदानका कारण १४ फेब्रुअरीलाई उनको नामबाट राखियो । यस दिन दुनियाँका सबै प्रेम गर्ने जोडीहरु विशेष रुपमा भ्यालेनटाइनलाई याद गर्छन् र एक अर्कोसँग माया बाड्छन् । यसकारण यस दिन प्रेम गर्ने जोडीहरु प्रेमी वा प्रेमीकालाई गुलाबको फूल, चकलेट वा अन्य उपहार दिएर माया दर्साउँछन् ।

प्रतिक्रिया दिनुहोस्