७७ वर्षीय श्रेष्ठको छक्क पार्ने युवा जोस



म्याग्दी : सामान्यतया ६० वर्षको उमेर पार गरिसकेपछि मानिसले आफू वृद्ध भएको भन्ठानी शारीरिक र मानसिक रुपमा कमजोर महसुस गर्छ । जागिर वा रोजगारीमा भएको व्यक्ति सेवानिवृत्त हुन्छ भने अन्य क्षेत्रमा रहेका व्यक्तिले अनुत्पादक काममा नै समय व्यतित गरिरहेका हुन्छन् । तर बेनी बजारको इन्द्रेणी टोलका ७६ वर्षीय नैनकुमार श्रेष्ठको दैनिकी भने आम वृद्ध व्यक्तिहरुको भन्दा बेग्लै र अनुकरणीय छ ।

बिहान ४ बजे उठेर १ घण्टा जप, ध्यान र श्रीमद्भागवत गीता पाठ गरिसकेपछि श्रेष्ठको कर्मशील दिनचर्या सुरु हुन्छ । श्रेष्ठका घरमा दुई श्रीमती, एक छोरा र एक छोरी छन् । श्रीमती र छोराछोरी नउठ्दै श्रेष्ठ उठेर भाँडा सफा गर्ने, घर बढार्ने, पोछा लगाउनेजस्ता काम सम्पन्न गरी आफ्नै घरको छतमा रोपेका फलफूल र तरकारीको गोडमेलमा लाछन् । घरको छतमा झुन्डिएका घिरौंलाले श्रेष्ठको जोस र जाँगरको परिचय दिइरहेझैं लाग्छ ।

बिहान १० बजे खाना खाएपछि सुरु हुन्छ श्रेष्ठको सामाजिक दिनचर्या । आर्थिक, शैक्षिक, धार्मिक र सामाजिक क्षेत्रका गरी विभिन्न १० वटा संस्थामा संलग्न रही सक्रिय श्रेष्ठ उदाहरणीय मात्र होइन, सामाजिक क्षेत्रका अभियन्ता नै भन्दा पनि कुनै अत्युक्ति हुँदैन ।

‘म मानसम्मान र लाभ लिन कुनै संस्थामा बसेको होइन’, श्रेष्ठले भने, ‘स्वस्थ रहेर बाँचुन्जेल समाजका लागि केही गर्ने हुटहुटीका कारण करिब एक दर्जन संघसंस्थामा संलग्न छु ।’ म्याग्दी उद्योग वाणिज्य संघका मानार्थ सदस्यसमेत रहेका श्रेष्ठले भने, ‘निष्कृय बस्यो भन्यो बुढ्यौली कहरपूर्ण हुन्छ, सक्रिय भयो भने यही बुढ्यौली रहरलाग्दो हुँदोरहेछ ।’

बिहान ४ बजेदेखि राति ९ बजेसम्म गृहस्थी र समाजसेवाका काममा व्यस्त रहने श्रेष्ठ उमेरका कारण वृद्धावस्थामा पुगे पनि जोस र जाँगर हेर्दा युवा जस्तै लाग्छन् । कृषिकर्मदेखि धर्मकर्म र सामाजिक तथा राजनीतिक कार्यमा समेत संलग्न श्रेष्ठ अहिलेसम्म आफू स्वस्थ रहेको बताउँछन् । खुट्टा दुख्ने समस्याका कारण अलि अप्ठ्यारो महसुस भए पनि यसैका कारणले कुनै काममा व्यवधान भने नआएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्