सरकारलाई गगन थापाको प्रश्न : के डा. गोविन्द केसीलाई मारि नै दिने ?



काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाले अनशनरत डा. गोविन्द केसीलाई मारि नै दिने हो त भनी सरकारसँग प्रश्न सोधका छन् ।

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक र डा. केसीको अनशन सन्दर्भमा बिहीबार आयोजित पत्रकार भेटघाटमा थापाले शिक्षा, स्वास्थ्यका कयौं पाटोमा विगतका दशकमा गम्भीर गल्ती भएको बताए । ‘गल्तीको आत्मबोध पनि भएको छ । अध्ययन पनि भए, सुधारका उपायहरुका बारेमा । तर किन ती पाटोहरुमा सुधार भएनन् ?’, उनले प्रश्न गर्दै थपे, ‘किनकि त्यहाँ अर्को गोविन्द केसी थिएन । त्यसैले हामीलाई एउटा होइन, सयौं गाविन्द केसी चाहिएको छ । यस्तै निष्पृय, यस्तै पवित्र, यस्तै हठी गोविन्द केसीहरु चाहिएको छ ।'

तर हामी एउटा भएकोलाई पनि मार्न तयार भएको हो भन्ने प्रश्न गर्दै थापाले भने, ‘किनकि डा. गोविन्द केसी हाम्रो गलत स्वार्थका विरुद्धमा उभिए, उभिइराखेका छन्, भोलि पनि उभिइराख्छन् ।’ प्रधानमन्त्रीलाई सम्बोधन गर्दै थापाले प्रश्न गरे, ‘त्यसैले हाम्रो स्वार्थका विरुद्ध उभिने डा. गोविन्द केसीलाई नै ढाल्दिन चाहेको हो, प्रधानमन्त्रीज्यू ?’

 

उनले डा. केसी एक फकिर, एक सन्त भएको बताउँदै थपे, ‘जनताको स्वास्थ्यका लागि लाग्दा लाग्दा सिंहदरबारको तातो कुर्सीमा को हुन्छ, उनलाई कहिल्यै चासो भएन । के कांग्रेस, के नेकपा उनको चासोको विषय होइन । यो सबैलाई बिर्सेर आज डा. केसीलाई कम्युनिस्ट विरोधी भनेर स्थापित गर्न खोज्नु अज्ञानता, अहंकारले प्रभावित दृष्टिदोषमात्र हो । डा. गोविन्द केसी न कांग्रेसका समर्थक हुन् न नेकपाका, न कांग्रेसका विरोधी हुन् न नेकपाका ।’ 

आफूले उठाएका सुधारको आवाजविरुद्ध सरकारसँगसँगै विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिलजस्ता नियामकदेखि अख्तियारजस्ता संवैधानिक निकाय र कहिले त सर्वोच्च अदालतसँग समेत डा. केसीले संघर्ष गर्नुपरेको थापाले बताए । उनले थपे, ‘पछिल्लोपटक अहिले उनी संसदसँग लडिरहेका छन् ।’

 

डा. केसीलाई मानिसहरुले एकोहोरो भन्नेगरेको सुनाउँदै थापाले भने, ‘कसैले पागल पनि भने तर एकोहोरो त हामी पो हो । जो जसरी भए पनि अन्य क्षेत्रजस्तै यो (स्वास्थ्य) पनि ध्वस्त बनाउने भनेर लागेकै छौं । मानिसहरु गोविन्द केसीलाई लाज लाग्नुपर्ने भन्छन् । लाज त हामीलाई लाग्नुपर्ने, हामी अर्थात् पार्टी, संसद, सरकार, अदालत, अख्तियार सबै मिल्यौं, केका लागि ? मेडिकल शिक्षा अर्थात् जनताको स्वास्थ्यको हकलाई अस्तव्यस्त बनाउनका लागि मिलिरहेका छौं । के लाज हामीलाई लाग्नुपर्ने होइन र ?’

प्रतिक्रिया दिनुहोस्