म्याग्दी : प्रकृतिको अनुमप सौन्दर्य छटा



म्याग्दी : प्राकृतिक सुन्दरता र भौगोलिक विविधताले सम्पन्न म्याग्दी जिल्लामा स्वदेशी तथा विदेशी पर्यटकलाई मोहनी लगाउने प्रशस्त सम्पदा हुँदाहुँदै पनि समुचित प्रयोग, प्रचारप्रसार र व्यवस्थापनको अभावमा त्यस्ता सम्पदा ओझेलमा परेका छन् ।

सन् १९४७ पूर्व भारतमा शासन गरिरहेका अंग्रेजलाई लोभ्याएको ‘सेतो पहाड’ धवलागिरिदेखि सुनको खानी रहेको अनुमान गरिएको ‘सुन छहरा’ सम्मका प्राकृतिक सम्पदा म्याग्दीमा छन् ।

धवलागिरिका साथै यस जिल्लामा दर्जनौं हिमशिखर, छहरा, ताल, गल्छी, र झरना छन् । पर्यटकलाई मख्ख पारेर धेरै दिनसम्म एकै ठाउँमा बसिरहुँ जस्तो वातावरण बनाउन आवश्यक पर्ने मनोरम प्राकृतिक दृश्य म्याग्दीमा छन् ।

म्याग्दीका इतिहासविद् एवम् भूगोलका ज्ञाता कर्णबहादुर बानियाँका अनुसार म्याग्दीमा  मनमोहक वा अनौठा मानिने प्राकृतिक दृश्य वा संस्कृति उपलब्ध छन् । ती ठाउँहरुको समुचित प्रयोग र व्यवस्थापन गर्न सक्ने हो भने म्याग्दी पर्यटकीय आकर्षण र अनुसन्धान केन्द्रको प्रमुख स्थल हुनसक्ने बानियाँको भनाइरहेको छ ।

गल्छी तथा हिमालहरू

म्याग्दी जिल्लाको उत्तरी क्षेत्रमा संसारको सबैभन्दा गहिरो गल्छी रहेको छ जसलाई अन्धगल्छी भनिन्छ । यो जिल्लाको अन्नपूर्ण गाउँपालिकामा पर्ने दाना गाउँमा काली गण्डकीले सर्वाधिक गहिरो गल्छी बनाएको छ जसको पश्चिममा धवलागिरी हिमाल (८,१६७ मि.) र पूर्वमा अन्नपूर्ण हिमाल (८,०९१ मि.) छन् । यी दुई हिमशिखरबीचको दूरी करिब ३५ मिटर मात्र छ । 

कालीगण्डकी किनारको दाना समुद्र सतहबाट करिब १२ सय मिटरमा अवस्थित छ । धवलागिरिको टाकुरादेखि दानासम्मको उचाइ ६ हजार ९ सय ६७ मिटर छ । धवलागिरिको चुचुरादेखि दानासम्मको त्यही उचाइको फरकलाई जमिनदेखि जमिनसम्मको उचाइको अन्तर मानिएको छ जसका कारण यो गल्छीलाई संसारकै सर्वाधिक गहिरो गल्छी मानिएको हो ।

 

हिमशृङ्खलाहरू

म्याग्दी जिल्लाको उत्तरी भू–भागमा धवलागिरी हिमशृङ्खला रहेको छ । यो हिमशृङ्खला सेतो भएको हुनाले यसलाई धवलागिरि भनिएको हो भन्ने भनाइ छ । धवलको अर्थ ‘सेतो’ र गिरिको अर्थ ‘पहाड’ भन्ने हुन्छ ।

यो हिमशृङ्खला बिहानीको झुल्के घाममा चाँदीझैं टल्कने भएकाले यसलाई ‘सेतो पहाड’ अर्थात् ‘धवलागिरी’ भनिएको इतिहासविद् बानियाँको भनाइ छ । बानियाँका अनुसार अङ्ग्रेजहरूले भारतको गोरखपुरबाट उत्तरमा रहेको ‘सेतो पहाड’ देखेपछि यसको खोजी गरेका थिए । त्यसपछि सन् १८०० मईमा ब्रिटिस इन्डियन सर्भेयर टोलीले यो हिम शृङ्खलाको बारेमा केही जानकारी सार्वजनिक गरेको थियो । 

काली गण्डकी र ठूली भेरीको बीचमा रहेको यो हिम शृङ्खलामा एउटा ८ हजार मिटरभन्दा अग्लो चुचुरो छ भने तेह«वटा ७ हजार मिटरभन्दा अग्ला र ४९ वटा ६ हजार मिटरभन्दा अग्ला चुचुरा छन् । यसमा मुकुट, डोल्पा र गुर्जा नामका तीन उपश्रृङ्खला छन् । यसको पूर्वमा काली गण्डकी, पश्चिममा भेरी नदी, उत्तरमा बारबुङ खोला र दक्षिणमा जिरवाङ खोला छन् ।

सन् १८५८ मा विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथा (माउण्ट एभरेस्ट) हो भन्ने कुरा पत्ता नलागुन्जेल धवलागिरि हिमाललाई नै संसारको सर्वोच्च टाकुरा मानिन्थ्यो । तर अहिले धवलागिरि प्रथम विश्वको सातौं अग्लो चुचुरोका रूपमा रहेको छ । धवलागिरि प्रथम ८ हजार १ सय ६७ मिटर अग्लो छ ।

 

धवलागिरि

दोस्रो ७ हजार ७ सय ५१, धवलागिरी तेस्रो ७ हजार ७ सय १५, धवलागिरी चौथो ७ हजार ६ सय ६१, धवलागिरी पाँचौं ७ हजार ६ सय १८ र धवलागिरी छैटौं ७ हजार २ सय ६८ मिटर अग्ला छन् । म्याग्दीको उत्तर–पश्चिमी क्षेत्रमा रहेको अर्को हिमश्रृङखला गुर्जा हिमाल हो । यो हिमशृङ्खलाको सबैभन्दा अग्लो चुचुरो ७ हजार १ सय ९३ मिटर अग्लो छ जसलाई गुर्जा हिमाल भनिन्छ । 

यस जिल्लाको उत्तर–पूर्वी क्षेत्रमा रहेको अर्को हिमशृङ्खला अन्नपूर्ण हो । यो हिमशृङ्खलाको सबैभन्दा अग्लो चुचुरो अन्नपूर्ण पहिलो (८०९१ मि.) हो । नारच्याङमा निलगिरि नामक अर्को हिमाल पनि छ ।

छहरा र तालहरू

म्याग्दी जिल्लाका विभिन्न ठाउँमा अनेक छहरा छन् । यस्ता छहरामा अर्जे, उडाइन, कोटगाउँ नारच्याङ, महभीर, रूप्से, लमसुङ, सुन छहरलगायत पर्छन् । यीमध्ये दाना गाउँमा पर्ने रुप्से छहरा विश्वप्रसिद्ध झरना हो । यो छहराको पानी धवलागिरि हिमालबाट उत्पत्ति भएर कालीगण्डकीमा मिसिन्छ । यो झरना करीब १५ हजार १ सय १७ फिटको उचाइमा रहेको रूप्से लेकबाट बग्दै आएको छ । 

यस्तै जिल्लामा थुप्रै रमणीय ताल छन् । बानियाँका अनुसार यहाँका ताललाई बराह ताल भन्ने चलन छ । जिल्लामा रहेका तालमा गुर्जाको बराह ताल, नागीको बराह ताल, पाउद्वारको खयरबराह ताल, मङ्गलेखानीको बराह ताल, ‘रिगात् बराह ताल, दहखर्क बराह, ठूलीधुरी बराह, रुवाचौर काली बराह, रुवाचौर पाताल्नी बराह, श्रीखर्क बराह नामका ताल छन् ।

 

प्रतिक्रिया दिनुहोस्