उसको याद



‘प्लिज मलाई अब भुल है’ राति ११ बजे एका एक आएको उसको म्यासेज हो यो। रात दिन मसँग कुरा गरिरहने उ, म बिना बाच्न नसक्ने उ तर अनायासै उसले यस्तो म्यासेज पठायो। उसको यो निर्णयले म अक्कनबक्क भए। सोच्न बाध्य बनायो। कसो गरु, के गरु, कता जाऊ भयो।

प्रेम वियोगको तातो रिसमा मैले पनि भनिदिए, ‘तिम्रो खुसी त्यसैमा छ भने, जे ठिक लाग्छ त्यही गर्नु’ । उ अफलाइन भयो। म पनि तत्काल अफ भए। त्यसपछि मलाई निन्द्रा लागेन। कति चोटि फोन गर्नलाई उसको नम्बर डायल गरे तर कल गर्न भने सकिन। एसेमेस गर्न कति चोटि टाइप गरे तर सेन्ट गर्न सकिन। आँखाबाट आशु रोकिने तर्खर थिएन। हामीले सँगै बिताएका ती २ वर्षका क्षण आँखा अगाडि झलझल आइरह्यो। झन् नआए हुन्थ्यो भन्योझन आइरहन्छ।

ती यादलाई डिलिट गर्न पाए पनि हुन्थ्यो जस्तो लाग्थ्यो । तर कहाँ सजिलो थियो र? हात खुट्टा चिसो भइसक्यो। आफूलाई धेरै सम्झाउन खोजे तर सकिन। खै किन नसम्झेको होला? अरु समयमा त अरूलाई सम्झाउन सक्ने म तर आज म आफूले आफूलाई सम्झाउन सकिरहेको छैन।

निदाउन खोज्छु सक्दिन। यता उता कोल्टे फेर्छु फेरी केही म्यासेज पो आयो कि भनेर मोबाइल हेर्छु तर आएको हुँदैन। मोबाइलको वाल पेपरले झन् मुटुमा तिर खोपे जस्तो हुन्थ्यो। त्यसपछि वाल पेपर नै डिलिट गरे। तर पनि मन शान्त भएन। वियोगी प्रेमलाई स्वीकार गरे पनि मनले मान्दै मानेन। २ वर्ष देखिको हाम्रो सम्बन्ध उसले एकै छिनमा मेटाइदियो।

मान्छेको मन कहिलेकाहीँ यति कमजोर भइदिन्छ कि के गर्न के नगर्ने, कुन सही कुन गलत छुट्ट्याउनै सकिँदैन। बाटो आँखा अगाडि नै हुन्छ तर ठम्याउन सकिँदैन । उ काठमाडौंमा जन्मेर, हुर्की बढेको थियो । सानैमा पिता गुमाएको भए पनि आमाले पिताको कमी महसुस हुन नदिई हुर्काइ, बढाइ, पढाइ इन्जिनियरिङ गराएकी थिइन ।

यता म भोजपुरको । काठमाडौंमा बस्न थालेको ३ वर्ष जति भएको थियो। बेग्लै संस्कार, बेग्लै परिवेश उसले देखेको संसार र म बाँचिरहेको संसारमा धेरै फरक थियो। यति धेरै असमानताका बिच पनि २ वर्षसम्म हाम्रो सम्बन्ध राम्रो थियो।

तर अहिले आएर के भयो यस्तो? म एकोहोरो टोलाउन थालेकी थिए। न खान मन थियो न कसैसँग बोल्न। मेरो व्यवहारले साथीभाइ सबै छक्क पर्थे। साथीभाइ आएर सम्झाउँदै भन्थे, एक पटक भेटेरै कुरा गर। उसले के कारण तलाई छोड्न खोजेको हो। मैले पनि धेरै सोचेपछि एक पटक भेटेरै कुरा गर्ने निधो गरे। मर्नेसम्मको धम्की पछि बल्ल उ भेट्न तयार भयो।

हामी गोदावरीमा भेट्ने भनेका थियौँ। सातदोबाटोबाट एउटै गाडीमा जाने योजना बनायौँ। उ भन्दा पहिला म नै पुगे । एक छिन पछिको पर्खाइ पछि बल्ल उ आइपुग्यो। ‘हेल्लो’ भन्दा अरु केही संवाद भएन हाम्रो। त्यहाँबाट गाडी चढेर गोदावरीमा झ्र्यौ। निशव्द छौँ। कुरा कहाँबाट सुरु गर्रौ केही थाहा छैन। टिकट उसैले काट्यो। त्यसपछि हामी भित्र गयौँ। यसपछि मैले नै सुरु गरे। के छ तिम्रो खबर? त्यसपछि बिस्तारै कुरा हुँदै गयौँ। मैले प्रश्न गर्न थाले उसले उत्तर दिँदै गयो।

उसको बिहे हुन लागेको रहेछ । त्यही भएर मलाई छोड्न खोजेको रे। उसको आमाले खोजी दिएको केटी। आमाको जिद्धिले बिहे गर्न लागेको रे। आमाको लागि बिहे गर्न लागेको रे। ३ घण्टाको बसाइ पछि हामी त्यहाँबाट फर्कियौ। आशा, भरोसा सबै टुट्यो। आएर ओछ्यानमा पल्टे आशुका धारा निरन्तर बगिरह्यो। संसार छोडौँ जस्तो लाग्यो। आफू प्रति घृणा जागेर आयो।

२ दिन पछि हुने उसको इगेंजमेन्टमा गएर सबैको अगाडि युरिकको गलफ्रेन्ड म हो भनुम जस्तो पनि लाग्यो। फेरी एक मनले सोच्यो हैन इन्गेजमेन्ट तोडेर मलाई नै लिन आऊ छ उ। यसरी नै दिनहरू बिते। भेटेर गएपछि न फोन आयो न म्यासेज। हरेक साँझ प्रतीक्षा असफल भएको सूचना लिएर आउँछ, रातभर अन्धकारले मौन साथ दिएर जान्छ । बिहान घामसँगै उसका याद उदाउँछन् आसाका किरण अनि प्रतीक्षाको अर्को दिन । क्यालेन्डरतिर आँखा लान्छु।

आज त उसको इन्गेजमेन्टको दिन पो रहेछ। तर पनि प्रतीक्षाको घडी समाप्त भएको थिएन। बा इन्गेजमेन्टको एक मिनेट अगाडि इन्गेजमेन्ट तोडेर आउँछ कि भन्ने आस चैँ मनमा थियो तर त्यसको केही समयमा नै आशाहरू भताभुङ्ग भए। फेसबुकका वाल भरी इन्गेजमेन्टका फोटो सहित बधाईका ओइरो लागिरहेको थियो। त्यसपछि त झन् के के घटनाहरू घटे । प्रेममा मान्छे अन्धो हुन्छ भन्ने सुनेकी थिई तर आज आफैँले महसुस गरे। प्रेमले मान्छेलाई अन्धो मात्र होइन बहिरो पनि बनाउँदो रहेछ ।

समय बित्दै जाँदा आँसुले मेरो साथ दिन छाडे, आँसुहरू झर्न छाडे तर फूलबाट हराएको सुगन्ध झैँ मेरो मनबाट हराएको खुसी फर्किएन । सायद, युनिक मेरो जीवनमा खुसीलाई जीवित राख्ने अमृत झैँ बन्न पुगेको थियो । अमृत हराएपछि मेरा हाँसोहरू क्षणिक बन्न पुगे, फिस्स हाँसेर छिनमै बिलाइहाल्थे । तिम्रै याद बोकी हिँड्न थालेको दिनदेखि त हो , मैले आफूलाई अरूमा खोज्नु नपरेको र तिम्रो यादको वर्षात्ले होला, म निथ्रुक्क भिजेको ।

तिमीले बोलेका प्रत्येक शब्दले कानमा एक प्रकारको सङ्गीत भरेर निस्कन्छ । तिमीले हेरेको आँखाको झझल्को फेरि आइदिन्छ । तिमीले छोएको यो हातको औँलाहरूले फेरि एक पटक आफैँलाई समाउँछ र चुम्बनको वर्षा गराउँछ । हेर्दा मौन देखिन्छु, तर हृदयमा तिमी घुमिरहेका हुन्छौ । कसैको कपालको रंगसँग तिमीलाई दाँज्न मन लाग्छ ।

कतै कोही मुसुक्क हाँस्यो भने तिम्रो झझल्को आउँछ । तिमी नआए पनि तिम्रो यादको उपस्थितिले मनमा एक प्रकारको उत्साह जगाउँछ । र त सबैले देख्लान् भनेर लुकी लुकी हाँस्छु । कसैले देख्लान् भनेर लुकी लुकी तिमीसँग गफ गर्छु ।सोध्दैनौ कहिले आउँछ तिमीलाई मेरो याद भनेर ।

प्रतिक्रिया दिनुहोस्