नेकपा सचिवालय कमिटीकाे बैठक सकियाे, नेता नेपालले उठाएका विषयले ठाउँ पाएन



काठमाडौं  : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ।

 

पार्टीमा उठेका विवादमाथि छलफललगायत विषयमा बसकाे बैठकमा नेताहरुको विदेश भ्रमणको रिपोर्टिङमै सकिएको छ। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले अमेरिका तथा कोस्टारिका र पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणका विषयमा जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

 

बैठकमा प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको अहिलेको परिवर्तन र शान्ति प्रक्रियाबारे विश्वलाई जानकारी गराएको, दुई पक्षीय सम्बन्ध विस्तारको लागि उच्च स्तरिय भेटघाट भएको र सफल भएको बारे जानकारी गराएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

 

त्यस्तै बैठकमा माधव नेपालले चीन र घाना भ्रमण र प्रवक्ता श्रेष्ठको चीन भ्रमणका विषयमा अवगत गराएका थिए। अघिल्लो सचिवालय बैठकपछि पार्टी नेतृत्वमा देखिएको असन्तुष्टिका विषयमा आज छलफल नभएको प्रवक्ता श्रेष्ठले बताए।

 

'यही २४ गते बिहान ८ बजे अर्को सचिवालय बैठक बस्ने निर्णय गर्‍यो', श्रेष्ठले भने, 'विवाद भनिएका विषयमा त्यही बैठकमा छलफल हुनेछन्।'

 

२४ गतेको बैठकले स्थायी समितिको बैठक र कार्यसूची निर्धारण गर्ने निर्णय पनि सोमबारको बैठकले गरेको छ।

प्रतिक्रिया दिनुहोस्