प्रधानमन्त्री ओली आज स्विट्जरल्याण्ड जाँदै



काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली आज स्विट्जरल्याण्ड भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओली विश्व आर्थिक मञ्च ‘वर्ल्ड इकोनोमिक फोरम’ को ४९ औं वार्षिक बैठकमा सहभागी हुन स्विट्जरल्याण्ड जान लागेका हुन् । मञ्चमा विश्वका विकसित देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख, ठूला कम्पनीका कार्यकारी प्रमुख, आर्थिक तथा कूटनीतिक क्षेत्रका तीन हजार बढीको सहभागिता रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तीअनुसार प्रधानमन्त्री ओलीले सम्मेलनका दुईवटा औपचारिक सत्रलाई मुख्य वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीका सहयोगी चेतन अधिकारीका अनुसार ओली साँझ ८: ५० बजे त्यसतर्फ प्रस्थान गर्नेछन् ।  स्विट्जरल्याण्ड भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले त्यहाँका राजनीतिक नेता तथा व्यवसायीहरुसँग समेत भेटघाट गर्ने बताइएको छ । प्रधानमन्त्री ओली १२ गते शनिबार स्वदेश फर्किने छन् ।

 स्विट्जरल्यान्ड भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न देशका राजनीतिक नेतृत्व तथा व्यवसायीसँग भेटवार्ता गर्नेछन् । भ्रमणका क्रममा ओलीले स्वीस र भियतनामका कार्यकारी प्रमुखहरूसँग वार्ता गर्ने कार्यक्रम छ भने आयोजक मञ्चका कार्यकारी अध्यक्ष क्लाउस स्केवाभले आयोजना गरेको रात्रिभोजमा ओली सहभागि हुने छन् ।

ओलीले स्वीट्जरल्याण्डका राष्ट्रपति वेली माउरासँग भेटवार्ता हुने कार्यक्रम तय भएको छ । सो अवसरमा उनले विश्व आर्थिक मञ्च र निजी कम्पनीका केही प्रमुखहरूसँग समेत भेटवार्ता गर्नेछन् । भ्रमण टोलीमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री डा युवराज खतिवडालगायतका उच्च अधिकारी रहनेछन् । साताव्यापी भ्रमणका लागि जान लागेका प्रधानमन्त्रीसहितको नेपाली प्रतिनिधिमण्डल माघ १२ मा स्वदेश फर्किने परारष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्