साँच्चै बन्ला त व्यवस्थित र सुरक्षित सडकपेटी ?



काठमाडौं : काठमाडौं उपत्यकाका अधिकांश सडकपेटी पैदलमैत्री छैनन्। ज्यान जोखिम मोलेर बटुवाले यात्रा गर्न बाध्य छन्। सडकपेटीमा कतै खाल्डाखुल्डी छन् त कतै लत्रेका बिजुलीका तार, सवारी पार्किङ, ढुङ्गा, गिट्टी, बालुवा थुपारिएका, त्यति मात्र हैन कति ठाउँमा त सडकपेटी नै छैन, भएका अधिकांश सडकपेटीमा व्यापारका लागि सामान फिँजाइदा बटुवाले मेन सडकबाट ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने अवस्था छ।

यसका लागि सम्बन्धित निकाय मौन छन्। सडकपेटी भनेको सहज र सुरक्षित रूपमा पैदलयात्रुले यात्रा गरुन् भनेर बनाइएको हुन्छ तर देशकै राजधानी काठमाडौंको सडकपेटीमा अहिले मरिन्छ की भरै भन्दै ज्यान धरापमा राखेर हिँड्नु पर्ने बाध्यता रहेको बानेश्वर बस्ने किरण श्रेष्ठ बताउँछन्।

उनी भन्छन्, दिउँसो हिँड्दा त यति समस्या छ साँझको समयमा अथवा बक्ति नभएको समयमा हिँड्नु पर्दाको अवस्था कस्तो होला?त्यो भन्न पनि सकिदैंन। न त मापदण्ड अनुसारका सडकपेटी बनेका छन् न त व्यवस्थित छन्, सम्बन्धित निकाय मुखदर्शक बनेर बसेको छ।

तत्काल दिर्धकालिन योजना बनाएर राम्रोसँग काम गर्नु पर्‍यो। हामीले सहज रूपमा हिँड्न पाउनु पर्‍यो।’ यसरी सडकपेटी व्यवस्थित नहुँदा उनी मात्र हैन राजधानी वासी नै समस्यामा परेका छन्। कति त दुर्घटनाको सिरकार भएका छन्। सुन्दरीजल बस्ने रेनुकला राई सडकपेटी यात्रु मैत्री नहुँदा लडेर कति चोटि घाइते भएको बताउँछिन्।

अहिले महानगरले जिम्मा लिएर बनाउँदै छ भन्ने सुनेको छु काम गरे त राम्रै हो। तर यहाँ सरकारले गछौं भन्छन् गर्ने केहि होइन। जनतालाई आश्वासन दिने मात्र हुन्। यो पनि कार्यान्वयन हुँदैन जस्तो लाग्छ।’

सडक पेटीमा कुनै पनि चिज राख्न नपाउने, मापदण्डअनुसार सडक बनेको छैन भने घर भत्काएर भए बनाउनुपर्ने, सबै पेटी एकनासको हुनुपर्ने, कहीँ खाल्डा, कहीँ उठेको कहीँ पोलको धार छाड्ने भएकाले त्यो तत्काल व्यवस्थित गर्नुपर्ने उनको सुझाव छ ।

यसैलाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरभित्रको फुटपाथ निर्माण, व्यवस्थापन र मर्मतसम्भार गर्ने योजना अघि सारेको छ। सहरभित्रका सर्वसाधारण हिँड्ने फुटपाथको व्यवस्थापनको मूल दायित्व महानगरको हुने भएकाले कार्यपालिका बैठकको निर्णयअनुसार नै फुटपाथहरूको व्यवस्थापनको लागि काम सुरु गरिएको महानगरपालिकाका भौतिक विकास विभाग प्रमुख उत्तरकुमार रेग्मीले बताए।

उनेले भने,‘अब सडकपेटिमा पैदल यात्रुले समस्या भोग्न पर्दैन । हामीले सडकको रेलिङ र फुटपाथको काम क्रमैसँग गर्दै जान्छौँ। सडक विभागले मेन सडकलाई मात्र फोकस गर्‍यो। फुटपाथ सहज नबनाएका कारण यात्रुहरू मेन सडकबाट हिँड्न थाले । त्यही भएर अहिले हामीले बनाउने जिम्मा लिएका हौँ। हामी सरुमा सहरी क्षेत्रलाई फोकस गर्छौ। ’

उनले भने,‘फुटपाथ आज बनायो तर भोलि नै भत्किने गरी बनाउँदैनौँ, आधुनिक प्रविधि र बलियो टायलहरू प्रयोग गर्छौँ। फुटपाथमा हिँड्नेहरूलाई सहज हुने गरी बनाइन्छ ।’ महानगरपालिकाले हालै पुतलीसडकबाट अनामनगरसम्मको करिब डेढ किलोमिटर फुटपाथ क्षेत्र व्यवस्थापनको लागि ठेक्का निकालिसकेको छ।

जसमा ३ करोडभन्दा बढी खर्च हुने अनुमान छ । महानगरले बनाउने सडकपेटी अपाङ्गता मैत्री बनाइने छ।

प्रतिक्रिया दिनुहोस्