सञ्चारमाध्यममै गलत नक्सा



काठमाडौं : सञ्चारमाध्यममा कालापानी नभएको गलत नक्सा प्रयोग भइरहेकोमा नक्सा बनाउने आधिकारिक निकाय नापी विभागले चिन्ता प्रकट गरेको छ। आइतबार सम्पादकसँगको छलफलमा विभागले सबै सञ्चारमाध्यममा बारम्बार कालापानी नभएको गलत नक्सा उपयोग भइरहेको बताएको छ। छापा तथा अनलाइनले गलत नक्सा प्रयोग गर्दा सर्वसाधारणमा नै भ्रम उत्पन्न भएको विभागले जनाएको छ।

विभागका महानिर्देशक गणेशप्रसाद भट्टले सञ्चारमाध्यममा गलत नक्सा प्रयोग नरोकिएपछि सम्पादकस्तरमा नै छलफल चलाउनु परेको बताए। सम्पादकहरूलाई सही नक्साबारे जानकारी दिए गलत नक्सा प्रयोग नहुने विश्वासले छलफल गर्न बोलाए पनि न्यून उपस्थितिले प्रभावकारी हुन नसकेको उनले बताए।

‘मिडियामा नै पटक पटक गलत नक्सा छापिएका छन्, विज्ञापनमा छापिएका अधिकांश नक्सा गलत हुन्छन्’, उनले भने, ‘त्यसकारण राम्ररी हेरिदिनुहोस् भनेर सम्पादकसँग छलफल गर्न खोजेका थियौं, न्यून उपस्थितिले खासै प्रभावकारी भएन।’ सम्पादकहरूले देश र राष्ट्रियतासँग जोडिएको विषयमा गम्भीर नभएको भन्दै उनले दुःख व्यक्त गरे।

उनले कुनै पनि सञ्चारमाध्यमले देशको नक्सा प्रकाशन तथा प्रशारण गर्नुअघि आधिकारिकता जाँच्न आग्रह गरे। उनका अनुसार अधिकांशले गलत नक्सा प्रयोग गर्ने क्रम रोकिएको छैन। उनले सही नक्सा नापी विभागको वेबसाइटबाट निःशुल्क डाउनलोड गरेर प्रयोग गर्न आग्रह गरे।

उनले पटक पटक जानकारी गराउँदासमेत सञ्चारमाध्यमले गलत नक्सा प्रयोग गरेको बताउँदै नरोकिए कानुनी कारवाहीमा जान बाध्य हुने चेतावनीसमेत दिए। ‘४ पटक त पत्रकार सम्मेलन गरेर नै जानकारी गराइसक्यौं तर कार्यान्वयन भएन, अब पनि यो क्रम नरोकिए कानुनी कारवाही गर्छौ’, उनले भने। आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्