कंगोमा शिसेकेडी राष्ट्रपतिमा विजयी भएको अदालतको घोषणा



किन्सासा:  प्रजातान्त्रिक गणतन्त्र कंगोको संवैधानिक अदालतले विपक्षी नेता फेलिक्स शिसेकेडी राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको छ । उनका निकटतम प्रतिद्वन्द्वी मार्टिन फायुलुले चुनावमा धाँधली भएको आरोप लगाउँदै चुनावी नतिजा खारेज गर्न र पुनःमतगणनाको माग गर्दै अदालतमा मुद्दा दायर गरेका थिए ।

संवैधानिक अदालतको आदेशमा नेता शिसेकेडीले सामान्य बहुमत प्राप्त गरी चुनावमा विजयी भएको जनाएको छ । अदालतको आदेशसँगै शिसेकेडीलाई मुलुकमा लामो समय शासन गरेका नेता जोसेफ काबिलाबाट शान्तिपूर्ण प्रक्रियामार्फत सत्ता सम्हाल्न बाटो खुलेको छ । निकटतम प्रतिद्वन्द्वी मार्टिन फायुलुले शिसेकेडी र राष्ट्रपति जोसेफ काबिलाले चुनावमा व्यापक धाँधली गरी विजयी भएकाले त्यस्तो चुनावी नतिजा अस्वीकार गर्न अन्तरराष्ट्रिय समुदायसमक्ष आग्रह गरेका थिए ।

फायुलुले भने, ‘म अन्तरराष्ट्रिय समुदायसमक्ष यो चुनावी नतिजा अस्वीकार गर्न र नयाँ सत्तालाई मान्यता नदिन आग्रह गर्दछु, किनभने यसले कंगोली जनताको वास्तविक प्रतिनिधित्व गरेको छैन ।’ उनले आफू नै मुलुकको एकमात्र वैधानिक राष्ट्रपति भएको दाबी पनि गरेका छन् । कंगोको स्वतन्त्र चुनाव आयोगले यसै महिनाको सुरुमा शिसेकेडी विजयी भएको भन्दै प्रारम्भिक नतिजा सार्वजनिक गरेको थियो । तर यस विरुद्ध मुलुकभित्र र बाहिर चुनौती दिइएको थियो ।

अफ्रिकी युनियनले चुनावको अन्तिम नतिजा सार्वजनिक गर्न ढिलाई गर्न आग्रह गरेको थियो भने फायुलुले संवैधानिक अदालतमा चुनावी नतिजा खारेज गर्न माग गर्दै मुद्दा दर्ता गरेका थिए ।आइतबार, संवैधानिक अदालतले फायुलुको दाबी प्रमाणमा आधारित नरहेको जनाएको छ । फायुलुले पुनःमतगणना गर्न गरेको माग पनि तथ्यपरक नरहेको अदालतको भनाइ छ ।

न्यायाधीश नोल किलोम्बाले भने, ‘राष्ट्रिय चुनाव आयोगले आधिकारिक र वास्तविक नतिजा सार्वजनिक गरेको छ ।’ अदालतको आदेश आश्चर्यजनक मानिएको छैन । किनकि अदालतको गठन नै राष्ट्रपति काबिलाका सहयोगीले बनेको छ । शिसेकेडीका सयौं समर्थक अदालतको परिसरमा प्लेकार्ड लिएर भेला भएका थिए । उनीहरुले ‘विदेशीको हस्तक्षेप स्वीकार्य छैन र कंगो स्वतन्त्र राष्ट्र हो’ भन्नेजस्ता प्लेकार्ड प्रदर्शन गरेका थिए । अदालत परिसरमा दंगा प्रहरी तैनाथ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्