राष्ट्रपति भण्डारीद्वारा उग्रताराको दर्शन



डडेलधुरा : राष्ट्रपति विद्यादेवी भण्डारीले सुदूरपश्चिमको प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा मन्दिरमा माता भगवतीको दर्शन गरेकी छिन् ।

सुदूरपश्चिम प्रदेशको भ्रमणमा रहेकी उनले आज बिहान अमरगढी नगरपालिका-८ स्थित उग्रतारा भगवतीकोे दर्शन गरिन् । उनले करीब ४५ मिनेट उग्रतारा मन्दिरमा पूजापाठ गरेकी थिईन् ।

सो अवसरमा उग्रतारा वेदविद्याश्रममा अध्ययनरत वटुकले स्वस्तिवाचन गरेका थिए । मन्दिरमा राष्ट्रपति भण्डारी पुग्दा बाजागाजासहित स्वागत गरिएको थियो । स्वागतमा सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिलाकुमारी पन्त, मुख्यमन्त्री त्रिलोचन भट्ट, भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा तथा जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, मन्दिरका पुजारी, धामी, भ्रणिया, लौगटिया, उग्रतारा क्षेत्र विकास समितिका पदाधिकारी, पूर्वपदाधिकारी पनि पुगेका थिए ।

अमरगढी नगरपालिकाले राष्ट्रपतिलाई नागरिक अभिनन्दन गरेको थियो । उग्रतारा क्षेत्र विकास समितिले पनि राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन पत्र प्रदान गरेको छ ।

उनले नागरिक अभिनन्दनको प्र्रत्युत्तर दिँदै सुदूरपश्चिम प्रदेश साँस्कृतिक, प्राकृतिक सम्पदा र सौन्दर्यले भरिपूर्ण भएको बताए । “यहाँ प्राकृतिक सम्पदा र पुण्य धामहरू रहेका छन् । यहाँका राष्ट्रको ध्यान पुगेन कि भन्ने सोचाइहरू पनि छन् । तर त्यसो होइन । राष्ट्रको दाहिने हात, दाहिने आँखा सुदूरपश्चिम हो । त्यसैले यहाँ राष्ट्रको ध्यान आकर्षित भएको छ ।” सरकारले सबै ठाउँका जनतालाई समान ढङ्गले हेरिरहेको बताउँदै उनले सुदूरपश्चिम प्रदेशको चौतर्फी विकासका लागि पनि लागि परेको छ भनिन् ।

नेपाल भ्रमण वर्ष २०२० का अवसरमा पहिलो पटक उग्रताराको दर्शन गर्न पाउँदा आफूलाई खुशी लागेको बताउँदै उनले उग्रताराको राष्ट्रियस्तरमा प्रसार प्रसार हुने विश्वास व्यक्त गरिन् । रासस

प्रतिक्रिया दिनुहोस्