श्रुति परम्परा कायम राख्न वेद कण्ठस्थीकरण प्रतियोगिता



काठमाडौं : प्राचीनकालदेखि अक्षुण्ण रहँदै आएको श्रुति परम्परालाई कायम राख्न कान्तिभैरव गुरुकूलले राष्ट्रिय गुरुकूलस्तरीय वेद कण्ठस्थीकरण प्रतियोगिता आयोजना गर्ने भएको छ ।

आधुनिक शिक्षा प्रारम्भ भएसँगै वेद अध्ययन-अध्यापनमा कमै मानिसको रुचि हुन थालेको छ । कमैले वेद पढ्न थालेसँगै श्रुति परम्परासमेत संकटमा परेको छ । श्रुति परम्परा भावीपुस्ताले नबिर्सियुन् भन्ने उद्देश्यले देशव्यापी वेद कण्ठस्थीकरण प्रतियोगिता आयोजना गरिएको गुरुकूलका आचार्य श्रीराम अधिकारीले जानकारी दिए ।

प्राचीनकालमा ध्यान साधनाका माध्यमबाट वेदका मन्त्र देखेका ऋषिमुनिले श्रुति परम्पराका माध्यमले एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्थे । मानिसको स्मरण शक्ति कमजोर हुन थालेपछि वेद लिपिबद्ध गरिएको विश्वास गरिन्छ । लिपिबद्ध गर्नुअघि प्रयोगमा नआएकाले वेदका कतिपय शाखा लोप भए । अब फेरि यसरी वेदका मन्त्र लोप नहोऊन्, पढ्ने र सुनाउनेक्रम चलिरहोस् भन्ने उद्देश्यले प्रतियोतिा आयोजना गरिएको गुरुकूलका अध्यक्ष प्रा डा ऋषिराम पोखरेलले बताए ।

फागुन २१ गते कान्तिभैरव गुरुकूल उत्तरबाहिनी गोकर्णमा हुने प्रतियोगितामा १० गुरुकूलले भाग लिनेछन् । प्रतियोगितामा इलाम, झापा, मोरङ, चितवन, तनहुँ, काठमाडौँलगायत जिल्लाका गुरुकूलले भाग लिनेछन् । एउटा गुरुकूलको समूहमा तीन जना विद्यार्थी हुनेछन् । कार्यक्रममा वेद कण्ठस्थीकरण सुन्न चाहनेका लागिसमेत सहभागिताको व्यस्था गरिएको उनले सुनाए ।

नेपालका पहिलो वेदाचार्य प्रा सोमनाथ पौडेलको प्रथम शतवार्षिकी समापनका अवसरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो । पौडेल वेद विषयको पहिलो प्राध्यापकसमेत थिए । उनले नेपाल संस्कृत विश्वविद्यालयको वाल्मीकि विद्यापीठमा वेद अध्यापन गराएका थिए ।
प्रतियोगितामा विजयी हुने विद्यार्थीलाई फागुन २२ गते गुरुकूलको ११ औँ वार्षिकोत्सवका अवसरमा आयोजना हुने कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पुरस्कार एवं प्रमाणपत्र प्रदान गर्ने छन् ।

सो अवसरमा प्रा.पौडेलका स्मृतिमा प्रकाशन हुने स्मारिकासमेत विमोचन गरिने जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्