किताब करको विरोधमा प्रदर्शन, विद्यार्थीहरु पक्राउ



काठमाडौं : किताबमाथि सरकारले लगाएको करविरूद्ध आन्दोलनमा उत्रेका विद्याथीहरु पक्राउ परेका छन् ।

आज (शुक्रबार) सिंहदरबार पश्चिम गेटअगाडि करिब १५ जना प्रदर्शन गरिरहेका विद्यार्थीको टोलीलाई प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरूले ब्यानर देखाउँदै ‘किताबमाथिको कर खारेज गर’ र ’अर्थमन्त्री कहाँ छौ, हामी बहस गर्न तयार छौं’ भन्दै नारा लगाएका थिए । नारा लगाउन थालेको करिब ५ मिनेटपछि प्रहरीले उनीहरूलाई पक्राउ गरी अनामनगर प्रहरी वृत्त लगेको छ । सिंहदरबार पश्चिमगेटमा सरकारले प्रदर्शन गर्न प्रतिबन्ध लगाएको छ ।

करिब एक महिनाअघि पनि अधिकांश यिनै विद्यार्थीको समूह यहीँ आन्दोलन गरिरहेका थिए । शान्त रूपमा किताब पढेर प्रदर्शन गरिरहेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो । आन्दोलनमा सहभागी विनोद देउवाका अनुसार त्यो बेला उनीहरूलाई ‘अबदेखि यहाँ आन्दोलन नगर्न चेतावनी दिएर छाडिएको थियो ।

विद्यार्थीहरूले सरकारले आफ्नो आवाज नसुनेको र आफूहरूसँग कुनै विकल्प नभएको भन्दै सिंहदरबार गेट अगाडि फेरि आन्दोलन गरेको बताएका छन् । ‘हामीले सबैखाले आन्दोलन धेरै ठाउँमा गर्यौं । तर कसैले सुनेन । यहाँ निषेधित छ भन्ने थाहा छ, तर हामी तयार भएरै आएका छौं,’ विद्यार्थी तनुजा पान्डेले भनिन्,’घरमा पनि भनेरै आएका छौं । पक्राउ पर्न सक्छौं भनेर, हाम्रो आवाज कतैबाट सुनिएन, त्यसैले यहाँ आएका हौं ।’

विदेशबाट आयात हुने किताबमा दस प्रतिशत कर लगाउने सरकारी नीतिविरूद्ध उनीहरूले प्रदर्शन गरेका हुन् । सरकारले किताबमा कर लगाएसँगै बजारमा पाठ्यक्रम सम्बन्धी र अंग्रेजी साहित्यका किताब बजारमा अभाव भएको भन्दै उनीहरू आन्दोलन गरिरहेका छन् ।

प्रदर्शनका क्रममा एक महिनाअघि विद्यार्थीहरूले माइतीघर मण्डल, सिंहदरबार निषेधित क्षेत्र र त्रिचन्द्र कलेज गेटबाट र्याली गरेका थिए । २ साताअघिदेखि उनीहरूले शान्त रूपमा किताब पढेर प्रदर्शन गर्न थाले, पछिल्लो समय उनीहरूले पाटन दरबार क्षेत्र र माइतीघर मण्डलमा साँझ–साँझ प्रदर्शन गरिरहेका छन् ।

किताब, कविता पढ्दै उनीहरूले प्रदर्शनको स्वरूप पनि बदलेका छन् । एक सयभन्दा बढी विद्यार्थीले सुरू गरेको ‘किताब माथिको कर खारेज गर’ प्रदर्शन सरकारले बेवास्ता गरेको उनीहरूको गुनासो छ । विनोदका अनुसार अर्थमन्त्रालयमा आफ्नो आवदेन सुनाउन उनीहरू लगातार ५ दिन त्यहाँ धाए । दिनभरी बस्दा ‘मन्त्री भेटाइ दिने’ कुरा गरेर अन्तमा कसैले वास्ता गरेन । यसपछि उनीहरूले त्रिभुवन विश्वविद्यालयमा पनि ज्ञापनपत्र बुझाएका थिए । यहीबीच त्रिविले पनि किताबको कर हटाउन माग गर्दै कुलपतिलाई पत्र लेखेको थियो । तर यसमा कसैले वास्ता नगरेको आन्दोलनरत विद्यार्थीको भनाइ छ ।

संचारमन्त्रीको समेत जिम्मेवारी पाएका अर्थमन्त्री युवराज खतिवडाले बिहीबार किताबमाथिको कर ठीक भएको भन्दै यसमा बहस गर्न तयार रहेको बताएका थिए । ‘हामी पनि अर्थमन्त्रीसँग बहस गर्न तयार छौं, हाम्रो कुरा पनि सुन्नर्पयो नि सरकारले,’ विनोदले पक्राउ पर्नुअघि भने, ’हामीले केही गर्दा पनि सरकारले सुनेन । त्यसैले यहाँ आएका हौं । यहाँ पक्राउ परेनौं भने साँझ माइतीघर मण्डलमा कार्यक्रम गर्नेछौं ।’

प्रतिक्रिया दिनुहोस्