सरकारलाई चुनौती दिँदै पूर्वराजदूत रायमाझी, स्पेनमै शरणार्थी बन्ने चाहना



काठमाडौं : स्पेनका लागि नेपाली राजदूत भरतबहादुर रायमाझीलाई सरकारले फिर्ता बोलाए पनि उनी सरकारी निर्णयलाई चुनौती दिँदै अझै स्पेनमै बसेका छन् । मन्त्रिपरिषद्ले गत पुस ९ गते ३ हप्ताको समय तोकेर उनलाई नेपाल फिर्ता बोलाउने निर्णय गरेको थियो । 

मन्त्रिपरिषद्को निर्णयअनुसार पुस १२ मा परराष्ट्र मन्त्रालयले स्पेन दूतावासलाई पत्राचार गरेकोमा रायमाझीले परराष्ट्रको निर्देशनलाई अवज्ञा गरेका छन् । परराष्ट्रले तोकेको समयसीमाअनुसार उनी माघ २ गतेभित्र स्वदेश फर्किसक्नुपर्ने थियो ।

स्वदेश फर्कन केही समय थप गर्न आग्रह गर्दै रायमाझीले परराष्ट्रलाई पत्राचार गरे पनि उनको माग अस्वीकार गर्दै तोकिएकै मितिमा फर्कन निर्देशन दिइएको स्रोतले बताएको छ ।

पदमुक्त भए पनि उनी म्याड्रिडको राजदूत निवासमा राजदूतको सुविधा लिएर बसिरहेका छन् । उनले निवास नछोडेपछि बिजुली, पानी, इन्धन, टेलिफोन पूर्ववत् अवस्थामा प्रयोग भइरहेकाले राज्यलाई ठूलो व्ययभार थपिएको दूतावासका अधिकारी बताउँछन् ।

‘अब त उहाँको हैसियत पूर्वराजदूतको भइसक्यो तर उहाँ दूतावासकै खर्चमा आफ्नो र परिवारको औषधि उपचार गराइरहनुभएको छ’, दूतावास स्रोतले भन्यो । यस सम्बन्धमा रायमाझीसँग पटक–पटक प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । 

मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्नु उनको पनि नैतिक दायित्व रहेको तर निर्णय नै अटेर गरेपछि परराष्ट्रले सोझै एक्सन लिनुपर्ने दूतावास अधिकारी बताउँछन् ।

यसबारेमा जिज्ञासा राख्दा दूतावासका प्रथम सचिव हरिहरकान्त पौडेलले भने, ‘दूतावासले अब मन्त्रालयको निर्देशन अनुसार आफ्नो काम कारबाही अघि बढाउँछ ।’ आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्