अधूरो माया



बाला राई

‘गुड मर्निङ म्याडम, उठ्नु भो ?’

बिहान बिउँझनासाथ फेसबुकको म्यासेन्जरमा मेरो आँखा पुग्यो । म्यासेज दुई घन्टाअघि नै आएको रहेछ । ‘ओहो, कति छिटो सात पो बजिसकेछ, के सारो निदाएँछु ।’ नउठीकनै मोबाइलमा टाइप गरेंं, ‘आज साहै्र मीठो निद्रा लाग्यो । भर्खर उठ्दै, सरी है ।’ ऊ मेरा लागि घडीको अलार्मजस्तै भएको छ हिजोआज । बिहान पाँच बजे नै मलाई म्यासेज गरेर उठाउँछ । मध्य हिउँदको महिना, बाहिर हिउँ परेर असाध्यै जाडो छ । त्यसैले तातो ओछ्यान छाड्नै मन लाग्दैन । सिरकभित्र गुटमुटिँदै दुई घन्टा अनलाइनमा च्याट गर्दा समय बितेको पत्तो हुँदैन ।

छिनभरमै म्यासेजको रिङ बज्यो मोबाइलमा । हेरें, उसकै रहेछ । ‘कति धेरै सुतेको नि डल्ली, निद्रा पुगेन ?’ ‘हिजो राति अबेरसम्म निद्रा लागेन त्यसैले बिहान त भुसुक्कै निदाएँछु ।’ मैले आँखा मिज्दै जबाफ पठाएँ । ‘किन निद्रा नलागेको ?’ फेरि उताबाट म्यासेज आयो । ‘त्यत्तिकै, बेलुकी अलिकति पिएको जिउ नमीठो भएर निद्रा नै परेन भन्या ।’ मैले शरीर तन्काउँदै भनें । ‘किन पिएको त ?’

तातो ओछ्यान छाड्नै मन लाग्दैन । सिरकभित्र गुटमुटिँदै दुई घन्टा अनलाइनमा च्याट गर्दा समय बितेको पत्तो हुँदैन ।

‘कहिलेकाहीँ मनको बोझ हलुका पार्न पिउन मन लाग्छ ।’ मेरो मुखबाट कुरा फुत्किहाल्यो । मेरो कुराले उसलाई अझ कौतूहलता जगाएछ क्यार । प्रश्नमाथि प्रश्न तेर्सिन थाले । मैले केही होइन जिस्किएको भन्दै टारें । ऊ फेरि अफलाइन भयो । भारी मन लिएर बिहानको घरधन्दा सकें । ब्याकुल मनलाई बुझाउने प्रयास गरें तर सकिन । मनमा आँधीहुरी चलिरह्यो ।

अघिल्लो दिन च्याटमा भनेको थियो, ‘भोलि केटी हेर्न जाने कुरा छ । के गर्नु घरपरिवारले जबरजस्ती गरिरहेका छन् । हेरिदिनुपर्‍यो मन मिले विवाह गर्छु ।’ उसको कुराले मेरो मनमा ठूलो चोट पुुर्‍यायो । म आफैंमा रन्थनिन थालें । हुन त ऊ विवाह गर्नकै लागि भनेर बिदा लिएर गाउँ गएको थियो । उसले पहिलेदेखि नै घरबाट विवाहको कुरा चलेको बताउँथ्यो अनि मसँग सोध्थ्यो, ‘म के गरूँ ?’ मनभित्र माया भए पनि म उसलाई बारम्बार विवाह गर्ने सल्लाह दिन्थें । किनभने उसको पनि जिन्दगी हो । विवाह गरेर घरजम बसाओस् भन्ने मेरो चाहना थियो ।

सायद, हाम्रो मन अनि भावना एउटै भएर होला छोटो समयमै हामी धेरै नजिक भैसकेका थियौं । त्यसो त प्रवासी भूमिमा आत्मीयता बढ्नु स्वाभाविक हो तर हामीबीचको सम्बन्ध बिल्कुल फरक थियो । हामीले एक–अर्कालाई भेट्ने प्रयास कहिल्यै गरेनौं तर भावनात्मक रूपमा हामी हरपल सँगै रह्यौं।

म उसलाई आफूलाई भन्दा बढी माया गर्छु । ऊ मेरो रित्तिसकेको जिन्दगीमा बहार बनेर आएको छ । पुनः आशा र उमङ्गको बीजारोपण गर्दै मेरो जिन्दगीलाई हरियाली बनाइदिएको छ । के म त्यति स्वार्थी बन्न सक्छु र रु सच्चा हृदयले गरेको चोखो प्रेम पाउनै पर्छ भन्ने पनि त छैन । मनमा यस्तै कुरा खेल्न थाल्छन् । प्रेम प्राप्ति मात्र होइन त्याग पनि हो । तैपनि यथार्थलाई स्वीकार गर्नु त्यति सजिलो नहुने रहेछ । मैले आँसुका थोपा झार्दै उसलाई शुभकामनाका शब्द टाइप गरेर पठाइ दिएँ । उसले जवाफमा लेख्यो, ‘कति हतार है शुभकामना दिनलाई ।’

आफ्नै बाध्यता र परिबन्दमा बााधिएकी म चाहेर पनि उसलाई साथ दिन सक्दिन । यो समाजका अगाडि हामी खुलेर प्रेम गर्न सक्दैनौं । न त हामीमा त्यो बन्धन तोड्ने हिम्मत नै छ । यतिबेला नियतिले हामीलाई अप्ठ्यारो अवस्थामा ल्याएर छाडिदिएको छ । त्यसको सामना गर्ने सामथ्र्य छैन हामीमा । हामी लाचार अनि विवश छौं । ‘यो कस्तो माया बस्यो है हाम्रो, न त एक हुनै सकिने न त भुल्नै सकिने ।’ कहिलेकाहीँ यस्तै कुरा गरेर भावुक हुन्छौं हामी । म अलि बढी नै भावुक हुन्छु । ऊ सम्झाउँदै भन्छ, ‘निराशाका कुरा गरेर आफूलाई कमजोर बनाउनुहुन्न सधैं आशावादी र सकारात्मक सोच लिएर अघि बढ्नुपर्छ ।’

हाम्रो भेट फेसबुकमार्फत भएको थियो । हामी दिनरात च्याटमा हुन्थ्यौं मीठामीठा कुरा गर्थ्यौं । कहिलेकाहीँ एक–अर्काको विगत सम्झेर रमाउथ्यौं कहिले भावुक हुन्थ्यौं । वर्तमान र भविष्यका कुराहरू गथ्र्यौं । जिन्दगीका योजना बुन्दै सुन्दर सपना सजाउँथ्यौं । सायद, हाम्रो मन अनि भावना एउटै भएर होला छोटो समयमै हामी धेरै नजिक भैसकेका थियौं । त्यसो त प्रवासी भूमिमा आत्मीयता बढ्नु स्वाभाविक हो तर हामीबीचको सम्बन्ध बिल्कुल फरक थियो । हामीले एक–अर्कालाई भेट्ने प्रयास कहिल्यै गरेनौं तर भावनात्मक रूपमा हामी हरपल सँगै रह्यौं।

ऊ फेरि अनलाइनमा हरियो बत्ती बाल्दै पिलिक्क झुल्कियो । उताबाट टाइप गरिरहेको संकेतसागै म्यासेज आयो । ‘के गर्दै नि ? म त जान लागेको…।’‘बेस्ट अफ लक’ मैले रिप्लाई गरें । ‘के को बेस्ट अफ लक नि ?’ उताबाट झर्किएझैं गरेर जवाफ आयो । मैले मन भारी पार्दै लेखें, ‘ल–ल केटी राम्रोसँग हेरेर विवाह गर्नू मेरो चिन्ता नलिनू,’ मैंले रिप्लाई दिँदासम्म ऊ अफलाइन भैसकेको थियो । मैले आफूलाई थाम्न सकिन । डाँको छाडेर कोठामा एक्लै रोइरहें । युट्युबमा लोकदोहोरी गीत बजिरहेको थियो,‘हाम्रो भेट हुन्न अब त..।’ नारीबाट

प्रतिक्रिया दिनुहोस्